कृषिमा नयाँ अभ्यास गर्दै देवराज

पछिल्लो समय कृषकहरूले परम्परागत रासायनिक विषादीको विकल्पका रूपमा गहुँत प्रयोग गर्ने अभ्यासलाई प्राथमिकता दिने गरेका छन् । व्यवसायिक कृषि विस्तारसँगै बालीमा लाग्ने विभिन्न रोग र किरा नियन्त्रण गर्न अन्धाधुन्ध रूपमा रासायनिक विषादी प्रयोग भइरहेका बेला, यहाँका केही अग्रसर किसानहरू प्राकृतिक र जैविक विधि अपनाउँदै कृषिमा नयाँ अभ्यासको सुरुवात गरिरहेका छन् ।

यसैको उदाहरण हुन्, मकवानपुरको मनहरी गाउँपालिका–१, मकरीका कृषक देवराज न्यौपाने । उनले गाईको गहुँत (मूत्र) सङ्कलन गरी तरकारी खेतीमा प्रयोग गर्ने क्रम सुरु गरेका छन् । उनका अनुसार, रासायनिक विषादीको प्रयोगले माटोको उब्जाउपनमा ह्रास आउनुका साथै मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने अवस्था देखिएपछि आफूले गहुँत प्रयोग गर्न थालेको हो । आफ्नै घरको खोरमा पालेका चारवटा गाई र पाँचवटा बाच्छाबाच्छीबाट प्राप्त हुने मूत्रलाई उनले ट्याङ्कीमा सङ्कलन गर्ने व्यवस्था मिलाएका छन् ।

त्यसपछि पानीसँग मिसाएर एक इन्चको मोटरमार्फत तरकारीका बोटहरूमा नियमित रूपमा हाल्ने गर्छन् । उनको अनुभवमा गहुँत प्रयोग गरेपछि बालीमा लाग्ने कीराको प्रकोप घटेको छ र रोगसम्बन्धी समस्या पनि न्यून बनेको छ । विषादीजस्तै प्रभावकारी देखिएको गहुँतले बालीको गुणस्तर र उत्पादन दुवैमा सकारात्मक असर परेको उनी बताउँछन् । रासायनिक विषादीको प्रयोग नगरेका कारण तरकारी पनि स्वादिलो, स्वास्थ्यकर र सुरक्षित भएको उनको विश्वास छ । न्यौपानेले आफूले सिकेको अनुभवलाई अन्य किसानसँग पनि बाँड्दै विषादीको विकल्पमा गहुँत प्रयोग गर्न आग्रह गर्दै आएका छन् । चारवटा प्लास्टिक टनेलमा गोलभेँडाको व्यावसायिक खेती गर्दै आएका उनले बन्दाकोभीलाई अन्तरबालीका रूपमा लगाएका छन् । उनको वार्षिक उत्पादन करिब ५० क्विन्टलसम्म पुग्ने गर्छ र स्थानीय बजारमै त्यसको बिक्री गरेर करिब दुई लाख पचास हजार रुपियाँ आम्दानी गर्दै आएका छन् । यस बाहेक उनले केराको समेत व्यावसायिक खेती गर्दै आएका छन् ।

निजगढबाट ल्याएको बिउबाट नौ कट्ठा जमिनमा तीन सय बोट माल्पा जातको केरा लगाएका छन् । उनले कोसालाई ठूलो बनाउन कुनै रासायनिक भिटामिन वा औषधि प्रयोग नगरेको उल्लेख गर्दै भने, ‘हामीले खुवाउने केरा आफ्ना बालबच्चाले समेत ढुक्क भएर खान सकून् भन्ने चाहन्छौँ ।’ कृषिमा रमाउन थालेका देवराज न्यौपानेको यात्राले एक प्रेरणादायी मोड लिएको छ । उनी २३ वर्षसम्म भारतमा सवारी चालकको पेशामा संलग्न थिए । तर कोरोनाको महामारीपछि नेपाल फर्किएर आफ्नै गाउँमा केही नवीन र आफ्नै बलबुतामा गर्नुपर्ने सोचले उनी कृषि पेशामा होमिए । सुरुमा चुनौतीपूर्ण लागे पनि आज उनी व्यावसायिक कृषकको रूपमा स्थापित छन् ।

कृषिसँगै पशुपालनमा पनि सक्रिय रहेका न्यौपानेले दैनिक ४० लिटर दूध बिक्री गर्दै आएका छन् । गाईका लागि उनले १० कट्ठा क्षेत्रफलमा जै घाँस र नेपियर घाँस लगाएका छन् । वार्षिक रूपमा सात लाख रुपियाँभन्दा बढी मूल्य बराबरको दूध बिक्री हुने र त्यसबाट सबै खर्च कटाएर करिब चार लाख रुपियाँ खुद आम्दानी गर्ने गरेको उनको भनाइ छ । घरका सबै सदस्यको समन्वयमा कृषि र पशुपालनमा सक्रिय रहँदै आएका न्यौपानेले यही आम्दानीबाट आफ्ना छोराछोरीलाई उच्च शिक्षा पढाउँदै आएका छन् । तर, उनको सफलताका बीच केही गुनासा पनि छन् । श्रमिकको अभाव कृषि उत्पादनमा बाधा बनिरहेको उनको भनाइ छ । जनशक्ति अभावका कारण केही कामहरू समयमा गर्न नसकिने अवस्था आएको उनी बताउँछन् । त्यस्तै, भारतबाट सस्तो मूल्यमा आयात हुने केरा तथा तरकारीले नेपाली किसानहरू मर्कामा परेको उनको गुनासो छ ।

सस्तो आयातित उत्पादनले नेपाली कृषकको उत्पादन बजारमा प्रतिस्पर्धा गर्न नसकेको भन्दै उनले सरकारलाई यस्ता विषयमा विशेष ध्यान दिन आग्रह गरेका छन् । उनको धारणा छ कि सरकारले स्थानीय उत्पादनलाई संरक्षण गर्दै उचित मूल्य निर्धारण गर्न सघाउने नीति अपनाउनुपर्छ । ‘हामीले मिहिनेत गरेर उत्पादन गरेका सामग्रीले बजार नपाउँदा निराश बन्नुपर्छ,’ उनी भन्छन्, ‘सरकारले अब यस्ता कृषकका मिहिनेतलाई सम्मान गर्दै उचित मूल्य सुनिश्चित गर्न सहयोग पुर्‍याउनुपर्छ ।’ यसरी, गहुँतको प्रयोगजस्ता परम्परागत तर प्रभावकारी उपायलाई आत्मसात गर्दै देवराज न्यौपाने जस्ता किसानले नेपालको कृषिमा नयाँ सम्भावनाको ढोका खोल्दैछन् । जैविक विधिमा आधारित यस्ता अभ्यासले दीर्घकालीन रूपमा माटो, वातावरण र मानव स्वास्थ्यको सुरक्षामा योगदान पुर्‍याउने निश्चित छ । यो कथा केवल एक किसानको होइन, यो कथा हो–आत्मनिर्भरता, परिश्रम र पर्यावरणमैत्री भविष्यको मार्गचित्र कोर्ने एउटा साझा प्रयासको ।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.