मकवानपुर । चौध वर्षकै उमेरमै उनी विवाह बन्धनमा बाँधिइन् । पन्ध्र वर्षमै आमाको भूमिका सम्हालिन् । र, विगत सात वर्षदेखि श्रीमान् वियोगको पीडा बोकेकी छिन् मकवानपुरको मनहरी गाउँपालिका ६, ज्यामिरेकी मिठु सुनार । आर्थिक पीडासँग जुध्दै कष्टपूर्ण दिन बिताइरहेकी उनको एउटा सपना थियो, सुरक्षित एउटा सानो घरमा बस्ने । उनको यो सपना अहिले पूरा भएको छ । सुरक्षित घरमा बस्ने मात्र होइन की त्यो घरको मालिक समेत उनै मिठु बनेकी छन् ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले व्यक्तिगत रुपमा आफूले
पाउँने तलब सुविधाबाट मिठुको लागि सपनाको घर बनाइदिएका हुन् । मुख्यमन्त्री बन्दै गर्दा नै निर्णय लिएका थिए–‘राज्यले दिने तलब र सुविधा म विपन्न नागरिकको सेवामा प्रयोग गर्नेछु ।’ उनले शब्दमा मात्र होइन, त्यो प्रतिज्ञा व्यवहारमा परिणत गरिदिए मिठुमायाको घर निर्माण गरी हस्तान्तरण गरेर ।
मुख्यमन्त्री बानियाँको निर्वाचन क्षेत्रका तीन अति विपन्न परिवारका लागि घर निर्माण गर्ने योजनामा मनहरीकी मिठुु पहिलो लाभग्राही बनिन् । गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको सिफारिसमा निर्माण गरिएको तीन कोठे पक्की घर, शौचालयसहित, अब उनको नाममा हस्तान्तरण गरिएको छ । सरकारी लागत अनुमान ७ लाख रुपैयाँ भए पनि स्थानीयको श्रमदान र व्यवस्थापनका कारण घर ४ लाख ६५ हजारमै सम्पन्न भएको हो ।
घर हस्तान्तरण गर्दै मुख्यमन्त्री बानियाँले भने,‘मानवताको सेवा नै मेरो राजनीतिको मर्म हो । नागरिकका दुःखमा साथ दिन पाउनु नै सबैभन्दा ठूलो सन्तोष हो ।’ उनले गाउँपालिकाको सिफारिस बमोजिम आफूले मिठुको घर निर्माणमा सहयोग गरेको बताए । मिठुजस्तै समाजमा विपन्नतासँग संघर्ष गरिरहेका बाँकी जना राक्सीराङ गाउँपालिका–१ का सुमनसिं चेपाङ र कैलाश गाउँपालिका–४ धुस्राङका लालकुमार प्रजा चेपाङका लागि पनि घर निर्मण भइरहेको जानकारी दिए ।
घर हस्तान्तरण कार्यक्रममा मिठुमाया दंग देखिन्थिन् । ‘अब सन्तानहरुसँग सुरक्षित रहनका लागि यो न्यानो छानो पाएँ ।’ उनले भावुक हुँदै खुशी साटिन् ।
घर हस्तान्तरणमा प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पनि उपस्थित थिइन् । उनले आफ्नै व्यक्तिगत खर्चबाट मिठ्ठुमायाको परिवारलाई भान्साका सामग्री र चामल सहयोग गरिन् । मन्त्री रायमाझीले भनिन्, ‘राजनीति भनेको समाजसेवाको माध्यम हो । जब नेताहरू नागरिकको घरभित्र पस्छन्, तब राज्यको आत्मा बलियो बन्छ ।’
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी, सामाजिक अभियन्ता र स्थानीयहरुको उपस्थिति थियो ।
मुख्यमन्त्री बानियाँ नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्रीले आफूले पाउने तलब भत्ता र आफ्नो सचिवालयलाई प्राप्त अन्य सेवासुविधा कटौती गर्दै विपन्न परिवारको घर निर्माणमा खर्चिने घोषणा गरेका थिए । आफूले गरेको निर्णय कार्यान्वयन गर्दै आफ्नो निर्वाचन क्षेत्रमा बानियाँले प्रशंसनीय कार्य गरेको नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बताए ।
