मकवानपुर । कात्तिकका तीन दिन मक्राञ्चुलीका घरआँगनमा देउसी–भैलोको भाका गुञ्जियो। बालबालिकादेखि वृद्धसम्म आँगनमा निस्किए। कोही गीतमा रमाए, कोही नाचे। तर त्यो देउसी सामान्य चाडपर्वको रमाइलोमा सीमित थिएन। त्यसमा ५० वर्षको शैक्षिक इतिहास बोकेको आफ्नै विद्यालयप्रतिको माया र जिम्मेवारी पनि मिसिएको थियो।
देउसीको भाका सकिँदा मक्राञ्चुलीका ६ सय ८५ घरधुरीले भानु माध्यमिक विद्यालयका लागि २६ लाख ७६ हजार ६ सय ४२ रुपैयाँ ७६ पैसा जुटाइसकेका थिए।
मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्ती समारोहलाई भव्य र स्मरणीय बनाउने तयारी स्वरूप २०८३ कात्तिक २२, २३ र २४ गते देउसी–भैलो कार्यक्रम सञ्चालन गरेको थियो। विद्यालयको आग्रहमा स्थानीय टोल–टोलबाट समुदाय जोडियो र तीन दिनसम्म देउसी–भैलोमार्फत सहयोग संकलन गरियो।
यो अभियानले विद्यालयका लागि रकम मात्रै जुटाएन, पाँच दशक लामो शैक्षिक यात्रासँग समुदायको सम्बन्ध कति गहिरो छ भन्ने पनि देखायो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलप्रसाद चौलागाईंका अनुसार देउसी–भैलो कार्यक्रम स्वर्ण जयन्तीको आर्थिक स्रोत जुटाउनेभन्दा पनि समुदायलाई विद्यालयको उत्सवसँग जोड्ने उद्देश्यले गरिएको थियो।
‘आर्थिक सहयोग त एउटा पक्ष हो। मुख्य कुरा विद्यालयको ५० वर्षे यात्रामा समुदायको अपनत्व जोड्नु थियो। स्थानीयको उत्साह र सहभागिताले अभियान सफल भयो,’ चौलागाईंले भने।
अभियानमा सहयोग गर्ने सबैको योगदान समान थिएन। तर विद्यालयका लागि प्रत्येक सहयोगको आफ्नै अर्थ थियो। कसैले केही हजार दिए, कसैले ठूलो रकम। विद्यालयका अनुसार ६ सय ८५ घरधुरीमध्ये २ सय ५० ले ५ हजार रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।
त्यस्तै, ५० हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने सात जना रहेका छन्। सबैभन्दा बढी सहयोग गर्नेमा संगम टोल विकास संस्थाका हरिप्रसाद आचार्य छन्। उनले ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेका छन्।
टोलगत संकलनमा पनि संगम अगाडि देखिएको छ। संगम टोल विकास संस्थाबाट मात्रै ५ लाख ५७ हजार ९ सय २७ रुपैयाँ संकलन भएको छ। कालीदेवीबाट ३ लाख ६८ हजार ६ सय ५२ रुपैयाँ १० पैसा, धर्मचुलीबाट ३ लाख २३ हजार ६ सय ७१ रुपैयाँ र बाबियोडाँडाबाट २ लाख ७२ हजार २ सय ७६ रुपैयाँ जुटेको छ।
सुशासन टोल विकास संस्थाबाट २ लाख ५१ हजार ७ सय ७८ रुपैयाँ ५५ पैसा, नमुनाबाट २ लाख ४ सय ८ रुपैयाँ, देवीडाँडाबाट १ लाख ८७ हजार ४ सय ३६ रुपैयाँ, मक्रानडाँडा धमिलेबाट १ लाख ३७ हजार २ सय १७ रुपैयाँ र जीवनमौलीबाट १ लाख २३ हजार ९ सय ५० रुपैयाँ संकलन भएको छ।
त्यस्तै सुनौलो ज्वालादेवीबाट १ लाख १२ हजार ७ सय ९३ रुपैयाँ ११ पैसा, कालीदेवी मरङ्गेबाट ८७ हजार १ सय ९ रुपैयाँ र भूमिचुलीबाट ५३ हजार ४ सय २५ रुपैयाँ प्राप्त भएको विद्यालयले जनाएको छ।
देउसी-भैलोबाट ठूलो रकम संकलन भए पनि अभियान सञ्चालन गर्न खर्च पनि भएको छ। विद्यालयका अनुसार कलाकार, साउन्ड सिस्टम, इन्धन, खाना, खाजा, नृत्य पोसाकलगायतमा १ लाख ८९ हजार ४ सय ८९ रुपैयाँ खर्च भएको छ।
कलाकारका लागि ५५ हजार रुपैयाँ, साउन्ड सिस्टममा ३५ हजार, पेट्रोल तथा डिजेलमा २१ हजार ६ सय २० र खानामा ४५ हजार ३ सय ३९ रुपैयाँ खर्च भएको विद्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। बाँकी रकम पानी, दूध, खाजा, औषधि, खादा तथा कलाकारको रिहर्सललगायतमा खर्च गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत आय–व्यय विवरण सार्वजनिक गरेको हो। कार्यक्रममा प्रधानाध्यापक राजेन्द्र थापा, पूर्वप्रधानाध्यापक, टोल विकास संस्थाका अध्यक्ष तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।
भानु माध्यमिक विद्यालयले ५० वर्ष पूरा गर्दैछ। यो अवधिमा विद्यालयले थुप्रै विद्यार्थीलाई औपचारिक शिक्षा मात्र दिएको छैन, मक्राञ्चुली र आसपासको सामाजिक जीवनसँग पनि आफ्नो सम्बन्ध बनाएको छ।
त्यसैले स्वर्ण जयन्तीका लागि गाउँलेले जुटाएको रकमलाई विद्यालयले आर्थिक सहयोगको रूपमा मात्र हेरेको छैन। देउसी–भैलोका क्रममा घरघर पुगेका विद्यालयका प्रतिनिधिले समुदायसँग फेरि एकपटक सम्बन्ध गाँसेका छन्। पुराना विद्यार्थी, अभिभावक, टोलवासी र स्थानीय संघसंस्था एउटै अभियानमा जोडिएका छन्।
अध्यक्ष चौलागाईंले अभियानमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै समुदायको यही साथ विद्यालयको सबैभन्दा ठूलो सम्पत्ति भएको बताए। ‘स्वर्ण जयन्ती मनाउने क्रममा समुदायले देखाएको उत्साह हाम्रो लागि ठूलो हौसला हो। यो विद्यालयप्रतिको भरोसा र अपनत्वको अभिव्यक्ति पनि हो,’ उनले भने।
तीन दिनको देउसी सकिएको छ। गीतका भाका रोकिएका छन्। घरआँगनमा बजेको मादल पनि थन्किएको छ। तर देउसीको भाकासँगै जुटेको २६ लाख ७६ हजार रुपैयाँभन्दा बढी रकमले भानु माध्यमिक विद्यालयको ५० वर्षे यात्रामा समुदायले लेखेको एउटा नयाँ अध्याय भने बाँकी रहनेछ।








