मकवानपुर । मकवानपुरको हेटौँडा-६ चौघडाका बालकृष्ण चौलागाईंका लागि सयपत्री फूल तिहारमा घर सजाउने र दिदीबहिनीको हातमा लगाइने माला मात्र होइन, जीवन बदल्ने व्यवसाय र आत्मनिर्भरताको आधार बनेको छ । एक दशकभन्दा बढी समयदेखि फूलखेतीमा निरन्तर लागिरहेका चौलागाईंले उत्पादन,बजारीकरण र किसानलाई प्रोत्साहन गर्ने कामलाई सँगसँगै अघि बढाउँदै मकवानपुरमा व्यावसायिक फूलखेतीको छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
नेपाल सयपत्री फूल उत्पादक संघका केन्द्रीय अध्यक्षसमेत रहेका चौलागाईंले हेटौँडा–६ चौघडामा सञ्चालन गरेको मञ्जुश्री आधुनिक फूल एवं तरकारी खेती फार्मबाट वर्षभरि सयपत्री फूल र माला उत्पादन तथा बिक्री गर्दै आएका छन् । तीन कट्ठा क्षेत्रफलमा निर्माण गरिएको हरितगृहमा मौसमअनुसार खेती गर्दै आएका उनले माग धान्न आवश्यकताअनुसार हरितगृहबाहिर पनि फूल उत्पादन गर्छन् ।
उनको व्यावसायिक यात्रा भने सहज थिएन । स्थानीय बजारमा सयपत्री फूलको माग कति छ भन्ने स्पष्ट नभएको समयमा उनले बाँदर लाग्ने चौघडाको डाँडाबाट फूलखेती सुरु गरेका थिए । फूलखेतीको आधुनिक प्रविधि सिक्न भारतको कलकत्तासम्म पुगे । त्यहाँ १५ दिन किसानकै घरमा बसेर खेती गर्ने तरिका सिकेपछि फर्किएर त्यसलाई स्थानीय माटो र बजारअनुकूल प्रयोग गरे ।
‘उत्पादनसँग जोडिएर काम गर्न सकियो भने रोजगारी खोज्दै भौँतारिनुपर्दैन ।’ चौलागाईंको विश्वास छ, ‘फूल उत्पादन गर्न सकियो भने बजारको समस्या हुँदैन ।’
उनको अनुभवमा हेटौँडामा मात्रै दैनिक तीन सयदेखि पाँच सयसम्म सयपत्रीका माला बिक्री हुने गरेका छन् । उत्पादनको याममा मात्र होइन, वर्षका ३६५ दिन नै माला उपलब्ध गराउने उनको प्रयास छ । उनले अहिले तीन फिट लामो माला प्रतिगोटा एक सय रुपैयाँमा बिक्री गर्दै आएका छन् । घरबाटै खरिद गर्न आउने ग्राहकलाई केही छुटसमेत दिने गरेका छन् ।
फूलको बजार विस्तारसँगै चौलागाईंको व्यवसाय किसानसँग पनि जोडिएको छ । आफ्नै फार्ममा उत्पादन भएका फूलसँगै अन्य किसानले उत्पादन गरेका फूल खरिद गरेर माला बनाई बिक्री गर्छन् । लामो समयसम्म फूल सुरक्षित राख्न कोल्ड रुमको समेत व्यवस्था गरेका छन् । यसले किसानले उत्पादन गरेको फूल बजार नपाएर खेर जाने अवस्था कम गर्न सहयोग पुगेको छ ।
उनको अर्को महत्वपूर्ण काम फूलका बिरुवा उत्पादन र किसानलाई बजारीकरणमा सहयोग गर्नु हो । यस वर्ष मात्रै करिब डेढ लाख सयपत्रीका बिरुवा बिक्री गरेको उनले बताए । हेटौँडा र आसपासका धेरै किसानले उनका फार्मबाट बिरुवा लगेर व्यावसायिक खेती गरिरहेका छन् । स्थानीय युवा प्रदीप थापाले पनि दुई कट्ठा क्षेत्रमा चौलागाईंको फार्मबाट लगेको बिरुवा रोपेर सयपत्री उत्पादन गरेका छन् । तिहारलाई लक्षित गरेर फूल बजारमा लैजाने तयारीमा छन् ।
चौलागाईं आफूले बिक्री गरेका बिरुवाबाट किसानले उत्पादन गरेको फूलको बजारीकरणमा समेत सहयोग गर्छन् । उनका अनुसार मकवानपुरमा अहिले करिब १८ देखि २० बिघा क्षेत्रमा व्यावसायिक फूलखेती भइरहेको छ र यहाँको उत्पादन काठमाडौँलगायतका बजारसम्म पुग्न थालेको छ ।
फूलखेतीमा लाग्नुको पछाडि उनको राजनीतिक चेतनासमेत जोडिएको छ । तत्कालीन माओवादीको वाइसिएलमा जिम्मेवारीमा रहँदा नै राजनीतिकर्मी उत्पादनसँग जोडिनुपर्ने सोच राखेको उनी बताउँछन् । २०६६ सालमा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष हुँदा विभिन्न संस्थाका कार्यक्रममा मात्र माला प्रयोग हुने गरेको देखेका उनले त्यसलाई स्थानीय उत्पादनसँग जोड्ने सम्भावना देखे ।
मकवानपुरमा ललित घलानसँग मिलेर स्थानीय रूपमा व्यावसायिक फूलखेती सुरु गर्नेहरूमध्ये आफू पनि रहेको उनको दाबी छ । यसअघि करिब २२ वर्षअघि बङ्गाली समुदायका किसानले यहाँ फूल उत्पादन गरेर बाहिर लैजाने गरेको स्मरण गर्दै उनले स्थानीय उत्पादन र स्थानीय बजारको अवधारणालाई अघि बढाएको बताए ।
चौलागाईं किसान मात्र होइन, फूलखेती सिकाउने प्रशिक्षकसमेत बनेका छन् । मकवानपुरबाहिर करिब ५५ स्थानमा संस्थागत रूपमा निमन्त्रणा पाएर फूलखेतीसम्बन्धी तालिम दिइसकेको उनको अनुभव छ ।
उनको सपना सयपत्रीका फूलमा मात्र सीमित छैन। फूल आयातका नाममा बाहिरिने रकम रोक्ने, युवालाई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने र देशलाई फूलमा आत्मनिर्भर बनाउने अभियानसँग आफ्नो व्यवसायलाई जोड्न चाहन्छन् । उत्पादन गर्ने किसानलाई बजार र राज्यले आयातलाई निरुत्साहित गर्ने वातावरण दिनुपर्ने उनको धारणा छ ।
तिहारमा मात्रै सम्झिइने सयपत्रीलाई वर्षभरि रोजगारी, आम्दानी र आत्मनिर्भरताको माध्यम बनाउन सकिन्छ भन्ने उदाहरण चौलागाईंको यात्राले दिएको छ । फूल रोपेर सुरु भएको उनको अभियान अहिले किसान जोड्ने, बजार बनाउने र अरूलाई उत्पादनतर्फ प्रेरित गर्ने यात्रामा परिणत भएको छ ।








