हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित बादरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो करिब १२ः३० बजे हेटौंडा–भैंसे सडकखण्डअन्तर्गत बादरेभीरमा काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी गाडी दुर्घटनामा परेको हो। गाडी सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा रौतहटको दुर्गा भगवती गाउँपालिका–१ का ५० वर्षीय हरि साह गम्भीर घाइते भएका छन्। उनको मुखमा चोट लागेको र थप उपचारका लागि चितवनस्थित चितवन मेडिकल कलेज सीएमसी रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही स्थानका ३२ वर्षीय राजेश साहको बायाँ खुट्टामा, भारतको बिहारस्थित मोतिहारीका ३४ वर्षीय सर्फे आलमको नाक र बायाँ काँधमा तथा हरि साहका छोरीहरू २६ वर्षीया चन्दा कुमारी साह र २३ वर्षीया शिवा कुमारी साहको शरीरमा भित्री चोट लागेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, हरि साहका पाँच वर्षीय नाति आर्यन साहको शरीरमा भित्री चोट लागेको छ। उनका नातिनी शान्ति कुमारी साह र नाति शिवान्स साह भने सामान्य अवस्थामा रहेका छन्। हरि साहलाई थप उपचारका लागि चितवन रिफर गरिएपछि उनीहरूसमेत चितवन मेडिकल कलेज गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा रौतहटको चन्द्रपुर नगरपालिका–११ की २४ वर्षीया सबिता कुमारी चौधरीको बायाँ कोखामा, यमुनामाई गाउँपालिका–४ का १९ वर्षीय राहुल ठाकुरको मुखमा तथा धमनामाई गाउँपालिका–४ का १६ वर्षीय विजय कुमार ठाकुरको टाउको र दाहिने खुट्टामा चोट लागेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो। ईभी गाडी घटनास्थलमै रहेको र दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ। फरार चालकको खोजी भइरहेको छ।








