हेटौंडा । दशैं नजिकिएसँगै कुनै समय मकवानपुरका गाउँबस्तीमा रातो माटो र कमेरो खोज्ने चटारो हुन्थ्यो । घरका भित्ता रातो माटोले पोत्ने, कमेरोले सेतो बनाउने र काठका झ्यालढोकामा खोटो लगाउने चलन दशैंको तयारीकै अभिन्न हिस्सा थियो । तर, अहिले हेटौंडा बजारदेखि गाउँगाउँसम्मै पुस्तौँदेखि चल्दै आएको यो मौलिक परम्परा हराउँदै गएको छ ।
पहिले दशैं आउनुअघि घरको लिपपोत गर्ने, आँगन सफा गर्ने र झ्यालढोका सजाउने काममा परिवारका सदस्य जुट्थे । रातो माटो र कमेरो खोज्न जानेदेखि घर पोत्ने कामसम्ममा परिवारका सबै सदस्य सहभागी हुन्थे । कतिपय ठाउँमा छिमेकी र आफन्तले समेत एकअर्काको घर लिपपोत गर्न सघाउँथे । घरलाई नयाँ रूप दिने यो अभ्यास चाडपर्वको उल्लाससँगै सामूहिक सहयोग र आत्मीयताको माध्यम पनि थियो ।
मकवानपुरगढी गाउँपालिका–५ का वृद्ध उमेश घिमिरेलाई दशैं आउनुअघि घर पोत्ने माटो खोज्न जाने र घर लिपपोत गर्ने पुरानो चलन अझै सम्झना छ । पहिले दशैंको तयारी गर्दा घरलाई सफा र आकर्षक बनाउन रातो माटो र कमेरोको प्रयोग गरिने गरेको उनी बताउँछन् ।








