मकवानपुरको बकैयाको सीमातमा जन्मिएका गोकर्णको बाल्यकाल सामान्य बालबालिकाको जस्तो सहज रहेन। करिब चार वर्षको उमेरमै आमाको निधन भएपछि उनको बाल्यकालबाटै अभिभावकीय अभाव सुरु भयो। आमाको माया गुमाएका उनले बुबाको संघर्ष र परिवारको जिम्मेवारी नजिकबाट देख्दै हुर्किए।
जन्मस्थान सीमातमा करिब छ वर्ष बिताएपछि उनी मकवानपुरगढी गाउँपालिका–३, देवीडाँडा पुगे। त्यहीँबाट उनको जीवनको अर्को अध्याय सुरु भयो। परिवारको आर्थिक अवस्था कमजोर थियो। बुबा ज्यालादारी गरेर परिवार पाल्थे । घरायसी काममा दिदी र गोकर्णले पनि सघाउनुपर्थ्यो। करिब १० वर्षको उमेरमा बुबाले दोस्रो विवाह गरेपछि उनको जीवनमा आमाको माया र पारिवारिक साथ फेरि जोडियो।
आर्थिक अभावले अवसरहरू साँघुरा बनाए पनि गोकर्णको सपना भने साँघुरिएन। बाल्यकालमा उनलाई फुटबल खेल्न, वादविवाद, हाजिरीजवाफ र कविता प्रतियोगितामा सहभागी हुन निकै रुचि थियो। त्यतिबेला भविष्यमा के बन्ने भन्ने स्पष्ट थिएन, तर पढेर केही गर्नुपर्छ र समाजमा आफ्नो छुट्टै पहिचान बनाउनुपर्छ भन्ने भावना भने थियो।
उनको परिवारमा उच्च शिक्षा हासिल गर्ने अवसर कमैलाई मिलेको थियो। तर जेठी फुपू गोपी दहाल नेपाली विषयमा स्नातकोत्तर थिइन् । फुपूको शैक्षिक पृष्ठभूमि र प्रेरणाले गोकर्णलाई पढाइमा अघि बढ्ने आत्मविश्वास दियो। विशेषगरी कक्षा १२ मा विज्ञान विषय रोज्ने निर्णयमा फुपूको सल्लाह निर्णायक बन्यो।
गोकर्णले कक्षा १ सीमातस्थित कालीदेवी निम्न माध्यमिक विद्यालयबाट पढे। कक्षा २ देखि ८ सम्म देवीडाँडास्थित सरस्वती निम्न माध्यमिक विद्यालय र कक्षा ९ तथा १० श्री भानु माध्यमिक विद्यालयबाट अध्ययन पूरा गरे। विद्यालयका दिनहरूमा साथीहरूसँग खेलेका खेल, हाजिरीजवाफ र वादविवादका सम्झना आज पनि उनका लागि संघर्षपूर्ण यात्राबीचका सुखद क्षण हुन्।
विद्यालयमा शिक्षक सिताराम न्यौपानेका नैतिकता र जीवनदर्शनसम्बन्धी शिक्षाले उनको सोच निर्माणमा प्रभाव पार्यो। नेपाली विषयका शिक्षक तथा पारिवारिक रूपमा ठूलाबुबा नाता पर्ने हरि दहालको प्रेरणा र मार्गदर्शन पनि उनको शैक्षिक यात्राका महत्वपूर्ण आधार बने।
सरकारी विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेका गोकर्णको अंग्रेजी कमजोर थियो। हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा विज्ञान विषय लिएर कक्षा ११ मा प्रवेश गरेपछि यही कमजोरी उनको सबैभन्दा ठूलो चुनौती बन्यो। अंग्रेजीमा लेख्न नसक्ने, पढेका विषय बुझ्न र सम्झन कठिन हुने समस्याले उनलाई निराश बनाउँथ्यो।
तर त्यही कठिन समय उनको जीवनको मोड बन्यो। उनले आफूलाई कमजोर ठानेर पछि हट्नुको सट्टा कमजोरी सुधार्ने बाटो रोजे। दैनिक करिब ११ घण्टा अध्ययन गर्न थाले। अंग्रेजी व्याकरण, शब्दको हिज्जे र पठन अभ्यासमा थप समय दिए। निरन्तर मेहनतको परिणाम कक्षा ११ मा २ दशमलव ५९ जीपीए आयो। कक्षा १२ मा भने उनले उल्लेखनीय सुधार गर्दै ३ दशमलव ५३ जीपीए हासिल गरे।
पशु चिकित्सक बन्ने सपना भने कक्षा १२ पछि मात्र जन्मियो। घरमा गाईपालन आम्दानीको प्रमुख स्रोत थियो। सानैदेखि पशुसँग नजिक रहेका गोकर्णले पशुको स्वास्थ्य समस्या र त्यसले किसानको आम्दानीमा पार्ने प्रभाव देख्दै आएका थिए। यही अनुभवले उनलाई पशु चिकित्सा अध्ययनतर्फ डोर्यायो।
त्यसपछि उनले चितवनको भरतपुरस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्युटमा पाँचवर्षे पशु चिकित्सा अध्ययन सुरु गरे। निजी संस्थामा पढ्नुपर्ने भएकाले शुल्क महँगो थियो। कमजोर आर्थिक अवस्था भएको परिवारका लागि त्यो खर्च जुटाउनु सहज थिएन। तर गोकर्णले खर्चलाई बाधा होइन, चुनौतीका रूपमा लिए।
हरेक सेमेस्टरमा उत्कृष्ट नतिजा ल्याएर छात्रवृत्ति पाउने लक्ष्य बनाए। मेहनतकै बलमा उनले छवटा सेमेस्टरमा ८० प्रतिशत छात्रवृत्ति प्राप्त गरे। अध्ययनसँगै व्यक्तिगत खर्च जुटाउन बिदाको समयमा घर निर्माणमा सहयोगीका रूपमा ज्यालादारीसमेत गरे। परिवारको आर्थिक अवस्था बुझेकाले आफ्ना समस्या घरमा धेरै सुनाउँदैनथे। पढाइ छाडेर अर्को बाटो रोज्ने सोच उनको मनमा कहिल्यै आएन।
करिब १० वर्ष घरबाहिर बसेर अध्ययन गरेका गोकर्णको संघर्ष अन्ततः सफलतामा परिणत भयो। पशु चिकित्सकको उपाधि हासिल गरेपछि उनी नेपाल भेटेरिनरी काउन्सिलमा दर्ता भए। उनको दर्ता नम्बर २३९९ छ। यससँगै उनी परिवारकै पहिलो चिकित्सक बने।
पशु चिकित्सकका रूपमा दर्ता भएको दिन उनको जीवनकै अविस्मरणीय दिन बन्यो। वर्षौँको संघर्षपछि हातमा आएको सफलताभन्दा परिवारको खुसी उनलाई अझ ठूलो उपलब्धि लाग्यो। बुबाआमा र दिदीको अनुहारमा देखिएको खुसीले आफूले गरेको मेहनत सार्थक भएको अनुभूति भएको उनी बताउँछन्।
आफ्नो सफलताको पहिलो श्रेय उनी बुबाआमालाई दिन्छन्। आर्थिक कठिनाइका बीच श्रम गरेर, घाँस बोकेर र आफ्ना आवश्यकता कटौती गरेर पढाइमा सहयोग गरेको बुबाआमाको योगदान उनी कहिल्यै भुल्न चाहँदैनन्। बुबाको निडर स्वभाव र आत्मविश्वासका साथ काम गर्नुपर्ने शिक्षाले आफूलाई निरन्तर अघि बढ्न प्रेरित गरेको उनको भनाइ छ। दिदी र जेठी फुपू गोपी दहालको प्रेरणालाई पनि उनी उत्तिकै महत्वपूर्ण मान्छन्।
अब गोकर्णको लक्ष्य आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धिमा सीमित नराख्नु हो। पशु चिकित्सकका रूपमा किसान र पशुपालन क्षेत्रको सेवामा काम गर्ने उनको योजना छ। पशुमा लाग्ने रोगको समयमै पहिचान नहुनु, पटकपटक गर्भाधान गराउँदा पनि गर्भ नबस्ने समस्या, सरकारी अनुदान वास्तविक किसानसम्म नपुग्नु र पशु स्वास्थ्य सेवाको पहुँच कमजोर हुनु उनले देखेका प्रमुख चुनौती हुन्।
पशु कल्याण, खाद्य सुरक्षा, पशुबाट मानिसमा सर्न सक्ने रोगबारे जनचेतना, रोगको सही पहिचान र उपचारलाई प्राथमिकतामा राखेर काम गर्ने उनको योजना छ। किसानलाई प्राविधिक ज्ञान र आवश्यक सेवा उपलब्ध गराउँदै पशुपालनलाई थप व्यवस्थित र व्यावसायिक बनाउन योगदान गर्ने उनको लक्ष्य छ।
मकवानपुरगढीको ग्रामीण परिवेशबाट अघि बढेका गोकर्णको कथा एउटा सफलताको प्रमाण मात्र होइन, अवसरको अभावमा सपना देख्न छाडेका युवाका लागि प्रेरणाको सन्देश पनि हो। आमाको माया गुमेको बाल्यकालदेखि आर्थिक अभाव, कमजोर अंग्रेजी, महँगो शिक्षा र ज्यालादारीसम्मको यात्राले उनलाई रोक्न सकेन।
‘सपना देखेर मात्र हुँदैन, त्यसलाई पूरा गर्न मेहनत पनि गर्नुपर्छ। लगनशीलताका साथ अघि बढ्ने हो भने जस्तोसुकै सपना पनि पूरा गर्न सकिन्छ । गोकर्ण भन्छन्।








