मकवानपुर । हेटौँडा उपमहानगरपालिका-१३ का नागरिकले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, राजस्व, निकुञ्ज तथा भूमिहीनको समस्या समाधान गर्न स्थानीय सरकारसँग माग गरेका छन्।
सोमबार हेटौँडा उपमहानगरपालिकाको आयोजना तथा खुड्किलो सञ्चार प्रा.लि. हेटौँडाको समन्वयमा संचालित सार्वजनिक सुनुवाइमा स्थानीयले विकास योजना छनोटदेखि सेवा प्रवाहसम्मका विषयमा जनप्रतिनिधि र कर्मचारीसँग प्रत्यक्ष प्रश्न गरेका हुन्।
सार्वजनिक सुनुवाइमा सहभागीले विशेषगरी वर्षौँदेखि निकुञ्जसँग जोडिएको जग्गा समस्या, भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण, पदमपोखरी अस्पतालको सेवा विस्तार, सडक निर्माण, विद्यालयको शैक्षिक गुणस्तर, योजना कार्यान्वयन र बजेटको प्रभावकारी उपयोगबारे प्रश्न उठाए।
आधामार टोल विकास संस्थाका अध्यक्ष उमेश लामाले निकुञ्जको सीमाङ्कन स्पष्ट गरी स्थानीयले वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गाको समस्या समाधान गर्न माग गरे। उनले भूमिहीन तथा सुकुमवासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने बताए।
‘वर्षौँदेखि स्थानीयले भोगचलन गर्दै आएको जग्गाको समस्या समाधान भएको छैन । निकुञ्जको स्पष्ट सीमांकन गरी स्थानीयलाई उचित निकास दिनुपर्छ ।’ लामाले भने।
उनले पदमपोखरीमा रहेको अस्पताललाई कार्यालय समयमै सीमित नराखी २४ घण्टा सेवा दिने व्यवस्था मिलाउन पनि माग गरे।
स्थानीय अगुवा बगानसिं थिङले सार्वजनिक सुनुवाइले नागरिकलाई आफ्ना समस्या सम्बन्धित निकायसमक्ष प्रत्यक्ष राख्ने अवसर दिएको बताए। उनले वडाबाट सिफारिस भएका योजनामा पर्याप्त बजेट विनियोजन गरी समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
योजना कार्यान्वयनमा भइरहेको ढिलाइ कर्मचारी अभावका कारण हो वा प्रशासनिक ढिलासुस्तीका कारण हो भन्ने स्पष्ट हुनुपर्ने उनको भनाइ थियो। उनले कार्यालय समयमा कर्मचारीको उपस्थिति सुनिश्चित गर्नसमेत आग्रह गरे।
सडक निर्माणको काम तीव्र हुनु सकारात्मक भए पनि सडकको क्षेत्र र सीमाबारे नागरिकलाई स्पष्ट जानकारी गराउनुपर्ने थिङले बताए। विकास निर्माणअघि नागरिकलाई पर्याप्त जानकारी गराए विवाद न्यूनीकरण गर्न सकिने उनको धारणा थियो।
राजस्व संकलनको लक्ष्य पूरा गर्न नागरिकलाई प्रोत्साहित गर्ने भूमिका वडा कार्यालयले निर्वाह गर्नुपर्ने उनले बताए।
सार्वजनिक सुनुवाइमा शिक्षासम्बन्धी प्रश्न पनि प्रमुखताका साथ उठ्यो। तीनकुने टोल विकास संस्थाका सचिव जगनाथ पौडेलले विद्यार्थीलाई मात्र नभई अभिभावक र समुदायलाई समेत लक्षित गरी नैतिक तथा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
‘शिक्षाको गुणस्तर सुधार गर्न विद्यालयसँगै अभिभावकको भूमिका बलियो बनाउनुपर्छ । त्यसका लागि वडाले नैतिक तथा अभिभावक शिक्षा दिने कार्यक्रम ल्याउन आवश्यक छ ।’ पौडेलले भने।
कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक रामकृष्ण न्यौपानेले विद्यालयमा शौचालयजस्ता आधारभूत पूर्वाधारको अभाव हुन नहुने बताए। उनले विद्यालयको शैक्षिक विकासमा जनप्रतिनिधिबाट सहयोग भइरहेको जानकारी दिए।
महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु श्रेष्ठले निःशुल्क शिक्षाको नीति र विद्यालयको व्यवहारिक अवस्थाबीच अन्तर रहेको बताए। विद्यालय सञ्चालनका लागि पर्याप्त स्रोत उपलब्ध नभएका कारण केही शुल्क लिनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो।
‘निःशुल्क शिक्षाको नीति राम्रो छ । विद्यालय सञ्चालनका लागि आवश्यक स्रोत पर्याप्त छैन । त्यसैले व्यवहारमा केही शुल्क लिनुपर्ने अवस्था छ ।’ श्रेष्ठले भने।
सुन्दरबस्ती टोल विकास संस्थाका अध्यक्ष रामबहादुर वाइबाले विकास योजना छनोट गर्दा राजनीतिक पहुँच वा नातासम्बन्धभन्दा स्थानीय आवश्यकता र प्राथमिकतालाई आधार बनाउनुपर्ने बताए।
‘पार्टीका कार्यकर्ता वा नजिकका आफन्तलाई हेरेर योजना दिने प्रवृत्ति हुनुहुँदैन । आवश्यकताका आधारमा योजना छनोट भए मात्रै विकास समानुपातिक र प्रभावकारी हुन्छ ।’ वाइबाले भने।
स्थानीय भीमबहादुर थिङले सडक पूर्वाधारका समस्या समाधान गर्न वडा र पालिकाले प्राथमिकता दिनुपर्ने बताए। चन्द्रोदय आधारभूत विद्यालय शिक्षक–अभिभावक संघका अध्यक्ष फुलमाया पाख्रीनले सिमपानी–टुटेपानी जोड्ने झोलुङ्गे पुल निर्माणको प्रतिबद्धता कार्यान्वयन गर्न माग गरिन्।
स्थानीय रामलाल गोलेले कमेरोपानी क्षेत्रमा एम्बुलेन्सको व्यवस्था गर्न माग गरे।
नागरिकका प्रश्नको जवाफ दिँदै हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले निकुञ्जसँग सम्बन्धित समस्या स्थानीय सरकारको मात्र प्रयासबाट समाधान गर्न नसकिने बताए। समस्या कानुनी तथा सङ्घीय तहसँग जोडिएकाले सङ्घीय सरकारले आवश्यक निर्णय लिनुपर्ने उनको भनाइ थियो।
‘स्थानीय सरकारले सेवा दिने हो । निकुञ्जसँग जोडिएका कतिपय समस्या कानुनी र सङ्घीय तहसँग सम्बन्धित छन् । त्यसैले त्यसको समाधानका लागि सङ्घीय सरकारले आवश्यक निर्णय गर्नुपर्छ ।’ बानियाँले भने।
नागरिकको घरदैलोमा सेवा पुर्याउनु जनप्रतिनिधिको जिम्मेवारी भएको बताउँदै उनले जनप्रतिनिधिलाई कर्मचारीजस्तो बुझ्ने प्रवृत्ति त्याग्न आग्रह गरे। उनले हेटौँडा उपमहानगरपालिकामा विकासका लागि १३ नम्बर वडा बढी बजेट प्राप्त गर्ने वडामध्ये एक रहेको बताए।
शिक्षा र स्वास्थ्यमा भौतिक संरचना निर्माण मात्रै पर्याप्त नहुने भन्दै बानियाँले सेवा र गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताए। पदमपोखरी अस्पतालमा आवश्यक चिकित्सकसहित जनशक्ति व्यवस्थापनका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत काम भइरहेको उनले जानकारी दिए।
उनले नागरिकलाई जनप्रतिनिधिको काममा निरन्तर खबरदारी गर्न आग्रह गरे।
‘जनप्रतिनिधिलाई खुसी बनाउन सधैँ राम्रो भनिरहनु पर्दैन । आवश्यक पर्दा खबरदारी गर्नुस्, प्रश्न गर्नुस् ।’ बानियाँले भने।
वडाध्यक्ष पेम्बा लामाले नागरिकका गुनासा सम्बोधन गर्न व्यावहारिक समाधान खोजिरहेको बताए। नागरिकको मागअनुसार योजना र बजेट राख्दा कतिपय अवस्थामा बजेट कार्यान्वयन हुन नसकी फ्रिज हुने अवस्था आउने गरेको उनको भनाइ थियो।
‘बाहिरबाट प्रश्न गर्न सजिलो हुन्छ । तर जिम्मेवारीमा बसेर काम गर्दा कानुनी, प्रशासनिक र बजेटका विभिन्न समस्या आउँछन् ।’ लामाले भने।
भूमिहीन तथा सुकुमवासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने विषयमा निकुञ्जका कारण समस्या भइरहेको उनले बताए। यस विषयमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी र हेटौँडा उपमहानगरपालिकाका प्रमुखसँग छलफल भइरहेको जानकारी दिँदै उनले समस्या समाधान हुने विश्वास व्यक्त गरे।
वडाध्यक्ष लामाले विद्युत्, पर्यटन, सडक, शिक्षा, स्वास्थ्य तथा खेलकुदका क्षेत्रमा वडालाई थप व्यवस्थित गर्दै विकास अघि बढाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले वडा कार्यालय र हेटौँडा उपमहानगरपालिकाबाट नागरिकले प्राप्त गर्ने सेवासम्बन्धी सर्वेक्षणको प्रतिवेदन प्रस्तुत गरे।
पालिकाका योजना तथा बजेटबारे किरण थापाले जानकारी गराएको कार्यक्रममा सूचना अधिकारी भानुभक्त थपलिया, विना थिके, सफल भुजेल, विवेकचन्द्र अधिकारीलगायत सहभागी थिए। वडा सदस्य उत्तम गोम्जा र सानुमाया नेपाली, वडा सचिव शान्तिमाया हिम्डुङ, पत्रकारहरु रमेश बञ्जारा, शिव चौलागाईँ लगायतको उपस्थिति थियो।








