आफ्नै माटोको सपना

मकवानपुर । हेटौँडाकी सुष्मा थापामगरको सपना थियो-विदेश नगई पनि केही गर्ने । उनलाई आफ्नो सपना पूरा गर्न सकिन्छ भन्ने आत्मविश्वास पनि उत्तिक्कै थियो । तर उनको यो सपनालाई गन्तव्यसम्म पुर्‍याउँने यात्रा भने पक्कै सहज थिएन । उनी आफ्नो सपनालाई साकार पार्न हटियाबाट हेटौँडासम्मको यात्रामा थिइन् । यहाँ जीवनका हरेक पाइलामा संघर्ष थियो, थकाइ थियो, तर थिइनन् उनी थाक्ने मान्छे।
२०६६ सालमा एसएलसी सकेपछि सिपविकास तालिम केन्द्रमा छ महिने निःशुल्क तालिम लिईन्। त्यसपछि दुई हजार रुपैयाँ तलबमा काम सुरु गरिन्। यही साधारण सुरुवातले उनको जीवनको असाधारण अध्यायको ढोका खोलेको थियो। लगभग ३० हजार रुपैयाँको सानो लगानीबाट सुरू गरिएको सुष्माज ब्युटी एकेडेमी अहिले एक प्रेरणादायी नाम बनेको छ। हेटौँडा-२ स्थित यो एकेडेमीले १५ वर्षे यात्रामा करिब ६ हजारभन्दा बढी महिलालाई तालिम दिई आत्मनिर्भर बनाएको छ।
सुष्माले सिकाएको सिप लिएर झण्डै ३० जना महिला आफैं पार्लर व्यवसायमा लागेका छन्। पर्सा, सर्लाही, कैलाली, राजबिराज, बारा लगायतका जिल्लाबाट आउने महिलाले सुष्माको प्रशिक्षणपछि आफैं केही गर्न सक्छन् भन्ने विश्वास बोकेर फर्किन्छन्। उनी भन्छिन्, ‘विदेश जानु आवश्यक छैन, देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन चाहन्छु।’
उनले तालिममार्फत केवल सीप बाँड्दै छैनन्, आत्मबल, आत्मविश्वास र आशा पनि बाँडिरहेकी छन्। परिवारको साथ, समाजको सहयोग र आफ्नै दृढ इच्छाशक्तिले उनको जीवनलाई एउटा प्रेरणाको केन्द्र बनाएको छ। व्यवसायमार्फत समाजसेवा गर्ने लक्ष्य राखेकी उनी भन्छिन्, ‘नेपालमै अपार सम्भावना छन्, परिश्रम गर्‍यो भने यहाँ पनि सपना पूरा हुन्छन्।’
सुष्माले केही समयअघि अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरिसकेकी छन्, जसले उनको योगदानलाई अन्तर्राष्ट्रिय स्तरमै मान्यता दिएको छ। हालै, सुष्माज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको १५ औं वार्षिकोत्सव बागमती प्रदेशकी उद्योग मन्त्री सुकुमाया तामाङको प्रमुख आतिथ्यतामा भव्य रूपमा भयो।
सुष्माको यात्रा एउटा उदाहरण हो-सपना देख्नलाई ठूलो स्रोत चाहिँदैन, चाहिँदो रहेछ त केवल आँट, अठोट र अथक परिश्रम। आज उनी आफैं मात्र होइनन्, सयौं महिलाको सपना साकार पार्ने पात्र बनिसकेकी छन्।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.