मकवानपुरगढीमा महिलालाई सीप सिकाइँदै, उद्यमी बनाइँदै !

 मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका महिलाहरुलाई सीप प्रदान गरी उद्यमी बनाउँने अभियानमा लागिपरेको छ । पालिकाले आव २०८१/८२ मा आत्मनिर्भर बनाउने उद्धेश्यले महिलाका लागि विभिन्न प्रकारका सीपमुलक तालिम प्रदान गरेको छ ।
सीप अन्तर्गत ब्युटीपार्लर, विद्यालय ब्याग बनाउने तालिम, मौरी पालन तालिमसहित घार हस्तान्तरण, गलैँचा बनाउँने तालिमसहित प्रविधि हस्तान्तरण, एकल महिलाका लागि खोस्टाको चकटी बनाउँने तालिम, दलित महिलाका लागि तयारी कपडा तालिम प्रदान गरिएका छन् । यी विभिन्न सीपमुलक तालिम पाएका पालिकाका १ सय २० जना महिला अब उद्यमी बन्दै स्वरोजगारको बाटोमा लाग्दैछन् । यसका लागि आव २०८१/८२ का लागि पालिकाका तर्फबाट करिब ५० लाख रुपैयाँ महिलाका क्षेत्रमा लगानी भएको छ ।

ब्युटिसियन सम्बन्धी ३९० घण्टे तालिम लिएकी मकवानपुरगढी ८ की अन्जना योञ्जन तालिमले आफ्नो सोच समेत परिवर्तन गरिदिएकाले अझै सीप बढाउँदै आफूले सिकेको सीपलाई आगामी दिनमा व्यवहारमा उतार्ने बताउँछिन् । ‘घरधन्दामा सिमित भएको अवस्थामा पालिकाले सीप दियो ।’ उनी भन्छिन्, ‘अब पेशामा आबद्घ भएर आर्थिक आम्दानी गर्छु भन्ने सोचेकी छु ।’ पालिकाले बेरोजगार अवस्थामा रहेको आफूजस्तै दिदिबहिनीलाई सीप सिकाएर स्वरोगारको बाटोमा हिड्न सघाउ पुर्‍याएकोप्रति उनी खुसी छिन् । भन्छिन्, ‘आगामी दिनमा एड्भान्स तालिम लिएर आफ्नो सीपलाई अझै तिखार्ने अवसर पाइन्छ भन्ने आशामा छु ।’

उनीमात्र होइन मकवानपुरगढी ४ का मनिला वाइवा पनि तालिमले आफूमा सीप भरिएको भन्दै अब यो सीपलाई प्रयोग गरी आफूलाई व्यस्त राख्ने योजनामा छिन् । ‘खाली समयमा काम पाइयो, काम मात्र होइन काम गरेपछि दाम पनि पाइने भइयो ।’ उनले अब आफूआर्थिक आम्दानी गर्ने दिशामा अगाढी बढ्न बाटो खुलेकोप्रति उत्साह व्यक्त गरिन् । गृहिणी महिलाहरुका लागि पालिकाले सीप प्रदान गरेर उत्साह भर्ने काम गरेको उनको बुझाई छ । ‘महिलाहरु केवल घरधन्दा र सामान्य खेतीपातीमै अल्झिनुपर्छ भन्ने सोच भएको समाजमा चेतनाको किरण मात्रै छरिएको छैन की सीपले अब स्वरोजगार हुने मार्गरेखा कोरिदिएको छ ।’ उनले भनिन् । पालिकाको यस खालको लगानीले आफूहरुलाई अब सक्षम उद्यमी महिला बनाउन प्रेरणा दिएको बताइन् ।

पालिकाका ८ वटै वडाबाट गरी २० जना गृहिणी महिला यस तालिमबाट ब्युटिसियन सम्बन्धी सीप आर्जन गर्न सफल भएका हुन् । उनीहरु अब ब्युटिसियनको पनि एड्भान्स तालिम चाहन्छन् । पालिकाले पनि आगामी आर्थिक वर्षमा उनीहरुको चाहना सम्बोधन गर्दै सीप पूरा दिएर प्रविधी हस्तान्तरण गर्दै लागत साझेदारीमा एक लाख रुपैयाँ बीउँ पुँजी समेत प्रदान गर्ने कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।

पालिकाका तर्फबाट गरिएको अर्को महत्वपूर्ण लगानीको प्रतिफल पनि अब केही समयपछि देखिनेवाला छ । गाउँघरमै खेर जाने मकैको खोस्टोबाट चकटी बनाउने सीप सिकेर मकवानपुरगढी ४ मा २० जना एकल महिला उद्यमी बन्ने तयारीमा छन् । पालिकाले एकल महिलाका लागि उनीहरुलाई आत्मनिर्भर बनाउँन यो तालिम दिइएको पालिकाका उपाध्यक्ष मान कुमारी नेपाली पाख्रीन बताउँछिन् । अहिले बजारका रेस्टुरेन्टहरु, खाजाघरहरुमा चकटीको माग पनि रहेकाले गाँउठाउँमा खेर जाने खोस्टाको भरपुर सदुपयोग गर्दै महिलालाई उद्यमशील बनाउँन सकिने कार्यमा आफूहरु लागेको उनको भनाई छ ।

यो तालिमबाट हातमा सीप भरेर बसेका एकल महिलालाई उद्योग दर्ता गरी बीउ पुँजी दिएर उद्यमीका रुपमा अगाडी बढाउने पालिकाको योजना रहेको उपाध्यक्ष पाख्रीन सुनाउँछिन् ।
यस्तै, पालिकाका १० जना दलित महिलाहरु तयारी पोशाक सम्बन्धी तालिममा सहभागी मात्रै बनेनन्, उनीहरु अब आगामी दिनमा एउटा उद्यम नै चलाउने तयारीमा छन् । पालिकाको सामाजिक विकास शाखामार्फत आयोजना गरिएको तालिम पाँच लाख रुपैयाँ बजेटमा डेढ महिना अवधिको थियो । यस तालिमबाट उनीहरुलाई मेसिनसमेत प्रदान गरिएको छ । तालिमबाट तयारी पोशाक उत्पादन गर्न सक्ने सीप विकास भएको छ । आगामी दिनमा एउटा भवन नै निर्माण गरेर कम्तीमा पालिकाका विद्यालय पोशाकहरु यहीँ उत्पादन गर्न सकिन्छ भन्ने सोचका साथ लागिपरेको पालिकाका उपाध्यक्ष पाख्रीनले जानकारी दिइन् ।

गृहिणी महिलाका लागि ब्युटीपार्लर, दलित महिलाका लागि तयारी पोशाक, एकल महिलाका लागि खोस्टाको चकटी बनाउँनेमात्र होइन विद्यालय ब्याग बनाउने तालिम, मौरी पालन तालिमसहित सबै सीप मुलक तालिमबाट एकै पटक पालिकामा सयौँ जना महिला उद्यमी बनेर निस्कनु पालिकाका लागि पनि गर्वको विषय बनेको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान बताउँछन् ।

सीप मुलक तालिमका अतिरिक्त पालिकाले महिला सशक्तिकरणका लागि विभिन्न कार्यलाई अगाडी बढाइरहेको छ । पालिकाका छात्रालाई आर्थिक अभावकै कारण कलेज पढ्नबाट बञ्चित हुन नपरोस् भनेर ‘उपाध्यक्ष शैक्षिक छात्रवृति कार्यक्रम’ सञ्चालन गरिएको छ । पालिकाका ८० जना छात्राले कम्तीमा एक वर्ष कलेजको शुल्क तिर्न सहयोग गर्ने कार्यक्रम अन्तर्गत सहयोगात्मक कार्यलाई निरन्तरता दिएको उपाध्यक्ष पाख्रीनको भनाई छ । गाउँपालिकामा उपाध्यक्षमा निर्वाचित भएर आएपछि घोषणा बमोजिमको कार्यक्रमलाई उनले निरन्तरता दिएकी हुन् । एउटा वडामा १० जना छात्रालाई यस अभियानमा समेटेर उनीहरुलाई शिक्षा आर्जन गर्ने अवसर प्रदान गरिएको उनी बताउँछिन् ।

गाउँपालिकाका तर्फबाट लगातार तेस्रो वर्षसम्म आइपुग्दा यो कार्यक्रमबाट प्रत्यक्ष रुपमा छात्राहरुलाई लाभ पुगेको छ ।
यस्तै, खेलकुदको क्षेत्रबाट महिला शसक्तिकरणका लागि महिला भलिबल प्रतियोगिता कार्यक्रम सञ्चालन गरिएको छ । ‘केटाहरु विद्यालयमा बल बोकेर हिडेको देख्दा त्यो खालको रहर केटीहरुलाई पनि लाग्दो हो नि’ उपाध्यक्ष पाख्रीनले सुनाइन्, ‘यही भएर म निर्वाचित भएर पालिका आएपछि छात्राहरुलाई पनि खेलक्षेत्रमा सहयोग पुगोस् भन्ने सोचसहित महिला भलिबल कार्यक्रमलाई अगाडी ल्याएँ ।’
अहिले पालिकाका १० वटा विद्यालयमा छात्रा खेलकुद इकाई गठन गर्दै भलिबल र नेट सहयोग गरिएको छ । यसका लागि एक जना खेलकुद शिक्षकलाई संरक्षक तोकेर छात्रालाई खेलकुदमा अगाडी बढ्न हौसला दिने काम गरिएको छ । यसरी गरिएको लगानीको प्रतिफल देखिइसकेको पनि छ । गत वर्ष आयोजित जिल्लास्तरिय महिला भलिबल प्रतियोगितामा मकवानपुरगढीका छात्राहरुले प्रथम स्थान हासिल गरी आफूलाई अब्बलता साबित गरे ।

मकवानपुरगढी गाउँपालिकाले चालु आव २०८१/८२ मा विशेषगरी पालिकाका महिलाहरुलाई सचेतना, सीप र प्रविधी हस्तान्तरण कार्यमा लगानी गरेको हो । मुख्य गरी सीप अभिवृद्धि प्राथमिकतामा राखेर विभिन्न तालिममार्फत एकपछि अर्को महिला उद्यमी जन्माउने अभियान सफलताको बाटोमा छ । विभिन्न सीप लिएका महिलाहरुको प्रगति प्रत्यक्ष रुपमा आगामी वर्षमा देखिने छ, किनकी पालिकाले अहिले सीप प्रदान गरेका महिलाहरुलाई उद्यमशील बनाउँन थप सीप र बीउँ पुजी प्रदान गर्ने योजना बनाएको छ ।

पालिकाले महिलाहरुलाई सीपमात्र प्रदान गरेर मात्र नुहने भन्दै ग्रामीण दुरदराजका कतिपय महिलाहरुको चेतनाको स्तर वृद्घि गरी उनीहरुलाई आफ्ना हक अधिकारबारे सचेत पार्ने काम गरिएको छ । पालिकाका विभिन्न ५ वटा वडामा संविधानमा महिला हकअधिकारका विषयमा सचेतनामूलक अभिमुखीकरण गरिएका छन् । न्यायिक समिति अन्तर्गत लैङ्गिक हिंसा र त्यसको कानूनी उपचारका सन्दर्भमा पालिकाका ८ वटै वडामा महिलाहरुका लागि सचेतना कार्यक्रम गरिएका हुन् ।

महिलाको सामाजिक, आर्थिक तथा नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै सशक्तिकरणका कार्यमा जोड दिँदै पालिका अगाडी बढिरहेको छ । महिला लक्षित कार्यक्रमहरुमा देखाएको अग्रसरताकै कारण विभिन्न क्षेत्रमा सफलताहरु मिलिरहेका प्रसस्तै उदाहरण छन् । विगत लामो समयदेखि स्थानीय सरकार तथा अन्य सहयोगी संस्थाहरुको साथका कारण गाउँपालिकाभित्रका महिलाहरूसहकारी अभियानमा जोडिँदै आफ्नो आर्थिक हैसियत सुधारिरहेका छन् । महिला सहकारीहरूले अब उनीहरूको आत्मबल मात्र बढाएको छैन,सामाजिक हैसियत र सामुदायिक नेतृत्वमा पनि उनीहरूको प्रभाव जम्न थालेको छ ।

महिलाहरुको चेनास्तर अभिवृद्धि, सीप हस्तान्तरणमार्फत उद्यमी बनाई स्वरोजगारतर्फ उन्मुख गराउँदै पालिकाले स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोगको समेत नीति लिएको छ । महिलाका लागि लिएका नीति, उनीहरुका लागि सञ्चालित कार्यक्रम तथा विभिन्न अभियानमार्फत पालिकाको समृद्धि हासिल गर्ने पालिकाको सपना छ ।

मकवानपुरगढी ८ का गृहिणी महिला मौरी पालन सम्बन्धि तालिम लिँदै ।
पालिकास्तरिय महिला भलिबल प्रतियोगितामा पुरस्कृत हुँदै ।
By शिव चौलागाईं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.