कृषि ऋणको ब्याज सरकारले तिरिदिने

मकवानपुर। बागमती प्रदेश सरकारले कृषि क्षेत्रमा संलग्न युवाहरुलाई प्रोत्साहनस्वरूप कृषि ऋणको ब्याज तिरिदिने भएको छ ।

सोमबारबाट सिन्धुलीको मरिणमा सुरु भएको इन्टरनेसनल एसोसिएसन अफ एग्रीकल्चर रिलेटेड साइन्स (आइएएएस) नेपालको ९औं राष्ट्रिय कङ्ग्रेस सम्मेलनको उद्घाटन समारोहमा बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले कृषि उत्पादनमा लगानी गर्न लिएको ऋण तिर्न कृषकलाई समस्या भएकोले सहजताको लागि ऋणको ब्याज अनुदान दिने लागेको जानकारी दिए ।

मन्त्री पौडेलले सम्भावनाको सबैभन्दा ठूलो क्षेत्र कृषि भएको उल्लेख गर्दै भने, ‘देशको ग्राहस्थ उत्पादनमा बागमती प्रदेशको कृषि उत्पादनको ठूलो योगदान छ, तर अझै पनि हामीले उत्पादन गरेको उपजले वर्षभर खान पुग्ने अवस्था छैन।’ उनले युवाशक्तिलाई व्यवस्थित रूपमा कृषि क्षेत्रमा आकर्षित गर्न सके आत्मनिर्भरता हासिल गर्न सकिने बताए।

मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले राज्यले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिँदै मरिण कृषि कलेजका समस्याहरू समाधान गर्न पालिकाले सहजीकरण गर्दै आएको जानकारी दिए। उनले कलेजलाई देशकै आकर्षक कृषि शिक्षण केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले कृषिमा युवाको सक्रियता बढाउन नीतिगत सुधार आवश्यक रहेको बताए। कृषिमा युवाको सहभागिता बढाउन सके रोजगारीका अवसर सिर्जना हुने र निजी क्षेत्रको भूमिका पनि मजबुत हुने उनको भनाई छ ।
तीनदिने सम्मेलनमा देशभरका १३ वटा कृषि क्याम्पसका विद्यार्थीको सहभागिता छ।

सम्मेलनले कृषि शिक्षामा अनुसन्धान, नवप्रवर्तन र नीति सुधारका विषयमा विद्यार्थी तथा विज्ञबीच गहिरो छलफल गराउने उद्देश्य लिएको आयोजकको अपेक्षा छ ।

सम्मेलन उद्घाटन लोकल डाइरेक्टर कौशल कोइरालाको अध्यक्षतामा भएको हो ।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.