मकवानपुरगढी पर्यटन समितिमा केदार

मकवानपुर ।  मकवानपुरगढी पर्यटन विकास समन्वय समितिको १५औं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन शुक्रबार हेटौँडामा  भएको छ। अधिवेशनबाट केदार प्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ।

समितिको नवगठित कार्यसमितिमा उपाध्यक्ष शंकरलाल श्रेष्ठ, सचिव ओकिलराज बानिया, कोषाध्यक्ष शंकर बि.सी., र सहसचिव अनिल पराजुली चयन भएका छन्। यस्तै, समितिको सदस्यहरूमा एमपी शर्मा, उमा श्रेष्ठ, सङ्ग्राम श्रेष्ठ, सुमित श्रेष्ठ, विनोद पुडासैनी र कृष्ण प्रसाद पोखरेल रहेका छन्। नयाँ नेतृत्व चयन भएसँगै समितिले आगामी दिनमा गढी क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्न थप सक्रियता देखाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले कार्यक्रमको औपचारिक उद्घाटन गरेकी थिइन्। उनले कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्दै, हेटौँडा उपमहानगरपालिका पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि समितिसँग सहकार्य गर्न सधैँ तयार रहेको बताइन्। प्रमुख अतिथिको रुपमा मन्तव्य दिँदै प्रमुख लामाले स्थानीय तह, प्रदेश र संघीय सरकारले संयुक्तरूपमा काम गरेमा गढी क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताइन्।

अधिवेशनमा समितिमा विभिन्न कालखण्डमा योगदान पुर्‍याउँदै आएका पदाधिकारी तथा सदस्यहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूको योगदानले हालसम्म समितिलाई निरन्तरता दिन र गढी संरक्षणको अभियानलाई जगेर्ना गर्न सहयोग पुर्‍याएको अध्यक्ष न्यौपानेले बताए।

समितिले सल्लाहकार तथा संरक्षकहरूको रूपमा बद्री प्रसाद खतिवडा, घनश्याम शंकर शर्मा, भागीरथी शर्मा खरेल, रामप्रसाद घिमिरे र विष्णु प्रसाद सिग्देललाई चयन गरेको छ। उनीहरूका अनुभव र सुझावले आगामी रणनीति तथा योजनालाई प्रभावकारी बनाउन सघाउने अपेक्षा गरिएको छ।

नव-निर्वाचित अध्यक्ष केदार प्रसाद न्यौपानेले गढीहरूको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्व रहेको उल्लेख गर्दै, अहिलेसम्म प्रचार प्रसारको अभावका कारण मकवानपुरगढी, ढुङ्गेगढी, अम्बासगढी (बकैयामा), चिसापानीगढी, पालुङगढी, टिस्टुङगढी, चित्लाङगढी र कोटथुम्कीगढीहरू ओझेलमा परेको बताए। उनले स्थानीय तहसँग सहकार्य गर्दै नेपाली सेनाको सहयोगमा गढीहरूको महत्त्व उजागर गर्ने तथा पर्यटकीय पूर्वाधार विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस अधिवेशनबाट समितिमा नयाँ उर्जा र उत्साह थपिएको छ। ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटनबाट स्थानीय रोजगारी सिर्जना र आर्थिक समृद्धि हासिल गर्न सकिने भन्दै समिति आगामी दिनमा अभियानात्मक ढंगले अघि बढ्ने जनाएको छ।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.