विपद् र महामारीमा सतर्क कैलाश गाउँपालिका

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले प्राकृतिक तथा मानवीय विपद्‌को सम्भावित जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाएको छ। पालिका अध्यक्ष लोकबहादुर मुक्तानले गाउँपालिकालाई रोग, महामारी र प्राकृतिक विपद्बाट जोगाउने तयारी भएको स्पष्ट पारे। विपद् अघिल्लो सूचना बिना आउने भएकाले सधैं तयार रहनुपर्ने उनको भनाइ छ।

स्थानीय द्रुत प्रतिकार्य समिति र टोलीसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष मुक्तानले मानिसमा लाग्ने रोगसहित पशुपन्छीमा फैलने महामारीप्रति पनि गम्भीर ध्यान दिएको बताए। विपद्‌ व्यवस्थापनमा आगामी नीति कार्यक्रम समावेश गरिने जानकारी दिँदै उनले स्वास्थ्यकर्मीलाई सधैं तयारी अवस्थामा रहन निर्देशन दिए। मौसम परिवर्तनको समय भएकाले मौसमी रोग फैलन सक्ने चेतावनी पनि उनले दिए।

गाउँपालिकामा आवश्यक औषधिको व्यवस्था भइसकेको र अभाव भएमा माथिल्लो निकायसँग समन्वय गरिने उनको भनाइ थियो। उपाध्यक्ष बालकुमार मल्लले पनि विपद्का हरेक जोखिमप्रति गाउँपालिका सचेत र तयारी अवस्थामा रहेको बताए। यहाँ बाढी, पहिरोको समेत उच्च जोखिम रहेकाले त्यसप्रति सजग रहनुपर्ने उनको भनाइ थियो।

स्थानीय द्रुत प्रतिकार्य समिति तथा टोलीलाई आवश्यकता अनुसार सामग्री खरिद गरेर पूर्वतयारीमा जुट्न आग्रह गरियो। डब्लुएचओकी प्रतिनिधि डा. सविता पौडेलले निर्देशिका र महामारी व्यवस्थापनसम्बन्धी व्यापक जानकारी प्रस्तुत गरिन्। उनले विश्वभर भएका महामारी अनुभव, नेपालमा फैलिएका ५२ प्रकारका संक्रमण र स्थानीय तहमा देखिएका जोखिमबारे कार्यपत्र प्रस्तुत गरिन्।

जनस्वास्थ्य कार्यालय मकवानपुरका अधिकृत लक्ष्मण घिमिरेले महामारी व्यवस्थापनका लागि तीन तहका सरकारबीचको समन्वय आवश्यक रहेको बताए। उनले द्रुत प्रतिकार्य समितिको संरचना, जिम्मेवारी र अधिकारबारे स्पष्ट जानकारी गराए।

कार्यक्रममा वडा अध्यक्ष सुर्यबहादुर ब्लोन, स्वास्थ्य शाखा प्रमुख कृष्ण यादव लगायतको उपस्थिति थियो।

गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान ।
By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.