‘हरायो अब न्याय पाउने आशा’

नातिबावु धिताल

दशवर्षे हिंसात्मक सशस्त्र द्वन्द्वमा अमानवीय ढंगले हत्या भएका व्यक्तिका परिवारले न्याय पाउने आशा हराएको बताएका छन् । द्वन्द्वको क्रममा सिन्धुपाल्चोक जिल्लामा अमानवीय रूपले हत्या भएका घटनाहरु जति छन् उनीहरू युद्धसँग असम्बन्धित र नितान्त सर्वसाधारण व्यक्तिहरूलाई अमानवीय रूपले विभिन्न आरोपमा हत्या गरियो । गाउँमा दुःखजिलो गरी जीवन निर्वाह गरेर बसेका सर्वसाधारणहरूले द्वन्द्वको समयमा धेरै आफन्तहरु गुमाए । अमानवीय संवेदना समेत गुमाएर आफन्तको हत्या गरिएको भन्दै पीडितका आफन्तहरू न्यायकालागि विभिन्न ठाउँमा हारगुहार गरेका थिए । तरपनि आफूले अहिलेसम्म न्याय नपाएपछि अव न्याय पाउने आशा हराएको बताउदै आएका हुन् । सशस्त्र द्वन्द्व पीडितलाई न्याय दिलाउन सरकारले सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरेपनि घटनाक्रमले आफूहरूलाई न्याय पाउने आशा नभएको पीडित परिवारको गुनासो छ ।

साविक पीपलडाँडा गाविस-३, हाल चौतारा सागाचोकगढी नगरपालिका–६ का ४४ वर्षीय श्रीराम चौहानलाई ०६२ वैशाख १४ गते राति तत्कालिन विद्रोही नेकपा (माओवादी) ले गाउँ घेरा हालेर घरमा सुतिरहेको अवस्थामा घरबाट तानेर बाहिरल्याइ खुकुरी, डण्डी, मुङ्ग्रो प्रहार गर्दै घरभन्दा १५ मिटर तल पुर्‍याई लडाएर अचानो राखेर घाँटीमा छिया छिया पारेर हत्या गरियो । उनको जिउभरी खुकुरीको चोट थियो । टाउको नछिनेको, तालु खुकुरीले ताछेको र उत्तानो पारेर दुवै कुममा गोली हानिएको थियो । चौहानलाई सेनामा जागिर खाएको आरोपमा हत्या गरिएको थियो । उनी अवकाश प्राप्त सैनिक जवान थिए । मृतक श्रीराम चौहानकी पत्नी सुन्तली चौहानले न्यायका लागि विभिन्न ठाउँमा निवेदन दिएपनि आफूले न्याय नपाएकोबताए । घटनापछि साविक बतासे गाविस( ३ घर भएका माओवादी नेता रामप्रसाद सापकोटाले श्रीराम चौहान निर्दोष व्यक्ति परेछन् आक्रमण गर्नु गल्ती भएछ भन्दै हिँडेको स्थानीय व्यक्तिहरुले बताएका छन् । उनी भन्छन्,‘घटनापछि देशमा धेरै सरकार बने, धेरै पटक सत्यनिरुपण तथा मेलमिलाप आयोगहरु पनि बने तर अहिलेसम्म हामीले न्याय पाएनौं ।’ आक्रमण गर्न आएका अधिकांश माओवादी नेता कार्यकर्ताहरुलाई स्थानीय गाउँलेहरुले चिनेका छन् ।

त्यसैगरी, साविक सेलाङ गाविस- ९ देउराली, हाल जुगल गाउँपालिका–१ का १७ वर्षीय हेमबहादुर नेपाली आफ्नै घरमा बसिरहेको अवस्थामा ०६१ जेठ २५ गते राति हातहतियार सहित आएका माओवादी कार्यकर्ताहरुले अपहरण गरी लगेका थिए । अपहरित नेपालीलाई ०६१ असार ७ गते तत्कालिन स्याउले गाविस-८ स्थित चौतारा जाने मूल सडकमा पुर्‍याई हत्या गरेका थिए । हत्या गर्नु अगाडी नेपालीलाई रुखमा बाँधेर शरीरका मासु खुकुरीले ताछेर झिकिएको थियो । घटनास्थलमा शरीरका मासु काटेर झिकिएको थुप्रो एकातिर थियो भने खुकुरीले काटेर टाउको एकातिर गिड अर्कातिर पारेर राखिएको थियो । प्रहरीको लुगा सिलाएको आरोपमा नेपालीलाई अमानवीय ढंगले हत्या गरिएको थियो । मओवादीले नेपाली माथि १७ ओटा आरोपहरु लेखेर शवको छातीमा काँटी ठोकेर राखिएको थियो । छोराको हत्यापछि बाबु मखमले नेपालीलाई घरमा बसिरहेको अवस्थामा ०६१ असार १० गते माओवादीले अपहरण गरेका थिए । उनलाई कुटपिट गरी यातना दिएर भोलिपल्ट मुक्त गरेका थिए । घटनापछि मृतकका दाजु टीकाराम नेपालीले न्यायका लागि विभिन्न ठाउँमा उजुरी दिनुभयो तर आफूले अहिलेसम्म न्याय नपाएको बताउनुभयो । घटना भएको धेरै वर्ष बित्यो, अब हामीलाई न्याय पाउने आशा मरेर गएको टीकारामको गुनासो छ ।

त्यसैगरी, साविक सागाचोक गाविस-४, हाल चौतारा सागाचोकगढी नपा- १२ की २२ वर्षीया देवकी देवी गिरीलाई ०६१ असोज ७ गते खेतमा काम गरिरहेको अवस्थामा हतियारसहित आएका माओवादी कार्यकर्ताले अपहरण गरी लगेकोमा असोज ८ गते शरीरको १६ ठाउँमा खुकुरी प्रहार गरी हत्या गरेका थिए । गिरीलाई साविक सागाचोक गाविस- २ हर्रेडाँडा, हाल चौतारा सागाचोकगढी नपा- १० स्थित सदरमुकाम चौतारा जाने मूल सडकको बीचमा पुर्‍याइ खुकुरीले शरीर छियाछिया हुनेगरी काटेर हत्या गरेका हुन् । अपहरण पछि गिरीलाई आफ्नै गाउँका चिनेजानेका माओवादी कार्यकर्ताहरुले ठूलोसिरुवारी गाविसको डडुवा डुलाएर भोलिपल्ट सडकको बीचमा ल्याएर हत्या गरेको प्रत्यक्षदर्शीले बताउदै आएका छन् । हत्या हुनुअघि देवकी गिरीले हारगुहार गर्दै मैले केही गरेको छैन, मलाई नमार भनेपछि माओवादीले वरपर रहेको घरहरूको ढोका बन्द गराएर एकजनाले टाउको समातेर अर्कोले पछाडीबाट खुकुरीले छप्काएको प्रत्यक्षदर्शीले अहिले पनि बिर्सेका छैनन् । देवकी गिरीको लास जसले उठाउछ, उसको पनि यस्तै हविगत हुनेछ भनेर लेखेको पर्चा लासको नजिक राखिएको थियो । यस्तो पर्चा देखेपछि गाउँलेहरु डराएर कसैले पनि लास उठाउन सकेनन् । तीन दिनपछि सदरमुकाम चौताराबाट सुरक्षाकर्मी आएपछि मात्र लास उठाएको थियो । लासको पोष्टमार्टम हुन सकेन । घटनास्थल नजिककै रहेको पाखामा लासको सद्गत भएको थियो । मृतक देवकी गिरीको काभ्रेपलाञ्चोक जिल्लाको चौरी गाविसमा विवाह भएको थियो । पति सँग घटना भएको तीन वर्ष अघि सम्बन्ध विच्छेद भएर माइतीमा बस्दै आएकी थिइन् । माइती घर बस्दै आएकी देवकी गिरीलाई माओवादीले फकाएर माओवादी पार्टीमा लगेका थिए । माओवादी पार्टीमा गएको केही समयपछि उनी माओवादी पार्टी छाडेर घरमा बस्दै आएकी थिइन् । पीडित गिरीलाई माओवादीको सुराकी गरेको आरोप लगाएको थियो ।

त्यसैगरी साविक ठूलोपाखर गाविस ३, हाल लिसंखुपाखर गाउपालिका- ७ का १८ वर्षीय बिशाल लामालाई ०६३ जेठ २७ गते माओवादीको तत्कालिन बेथान स्मृति ब्रिगेड अन्र्तगतका छापामारहरुले लिसंखुमा मेला हेर्न गएको अवस्थामा कुर्सीले कुटपिट गरी हत्या गरे । माओवादी लडाकुको आदेश नमानेको आरोपमा विशाललाई हत्या गरेका थिए । लामालाई जेठ २६ गते लिसंखुको ध्याङडाँडाँमा मेला हेर्न लाग्दा माओवादी छापामारहरुले मेलाबाटै डोरीले हात बाधेर कुटपिट गर्दै अपहरण गरेका थिए । अपहरण गरेका लामालाई तत्कालिन लिसंखु गाविस-५ नारगाउँ स्थित एक गोठमा राखेर यातना दिएर हत्या गरिएको थियो । हत्या पछि लामाको लासलाई नारगाउँ नजिक रहेको जंगलमा लगेर गाडेको अवस्थामा ६ दिन पछि आफन्तले फेला पारेका थिए । लामाको हत्याको विरोधमा आफन्त लगायत स्थानीय गाउँलेहरुले लामोसाँघु -जिरी सडक अवरुद्ध गराई माओवादी विरुद्ध प्रदर्शन समेत गरेका थिए । पीडितपक्ष, पीडकपक्ष, पत्रकार, मानव अधिकारकर्मी, स्थानीय व्यक्तिहरु संलग्न भएको १३ सदस्यीय घटना अनुसन्धान तथा सुझाव समिति बनेपछि अवरुद्ध राजमार्ग खुलेको थियो । अनुसन्धान तथा सुझाव समितिले ०६३ असार १३ गते आफ्नो प्रतिवेदन सार्वजनिक गरेको थियो । आरोपितहरुको औंठा छापसहितको लिखित साविति बयानका आधारमा समितिले आफ्नो प्रतिवेदनमा हत्यामा संलग्न व्यक्तिहरुको नाम उल्लेख गरेको थियो । माओवादीको तत्कालिन बेथान स्मृति ब्रिगेड अन्तर्गत कम्पनी भीसिदेखि प्लाटुन सहकमाण्डर सहित आठ जना हत्यामा संलग्न भएको प्रतिवेदनमा उल्लेख छ । हत्यामा संलग्न व्यक्तिहरुलाई माओवादी सहितको सरकार बनेपछि प्रचलित कानुन बमोजिम कारबाहीको लागि प्रहरीमा बुझाउने लिखित निर्णय ०६३ असार १५ गते समिति र दोलाखा जिल्लाका माओवादी तत्कालिन इन्चार्ज सहितको बैठकले गरेको थियो । लामाको हत्यापछि सर्वपक्षीय रूपमा बनेको घटनाको अनुसन्धान तथा सुझाव समितिले आरोपितहरूसँग लिएको साविति बयान तथा फोटोहरु इन्सेकको अभिलेखमा सुरक्षित राखिएको छ । त्यसैगरी आरोपितहरुलाई प्रचलित कानुन बमोजिम कारबाहीका लागि प्रहरी कार्यालयमा बुझाउने माओवादी नेता सहितले गरेको निर्णय समेत सुरक्षित रहेको छ । तर ‘हत्यामा संलग्न व्यक्तिहरुलाई न माओवादीले प्रहरीलाई बुझायो न त सरकारले नै कारबाही गर्‍यो’ मृतकका बाबु लालबहादुर तमाङले बताउनुभयो । त्यसैले अब न्याय पाउने आशा नभएको तमाङको भनाइ छ ।

पत्रकार ज्ञानेन्द्र खड्कालाई स्थानीय विद्यालयको अभिभावक भेलाको रिपोर्टीङ गर्न जाँदा ०६० भदौ २१ गते माओवादीले गाउँलेकै अगाडी विद्यालयको भलिवल खेल्ने पोलमा बाँधेर खुकुरीले काटी काटी अमानवीय रूपले हत्या गरे । खड्का रासस प्रतिनिधि थिए ।

साविक ठूलोसिरुवारी गाविस-१ हाल चौतारा सागाचोकगढी नगरपालिका- १३ का ३४ वर्षीय मोहन वि.क.लाई सुराकी गरेको आरोपमा ०५९ जेठ १० गते राती हतियारधारी माओवादीले घरमा सुतेको अवस्थामा बोलाएर घरको मूल ढोकामा खुकुरी प्रहार गरी हत्या गरेका थिए । पत्नीकै अगाडी राखेर गिड ढोकाभित्र टाउको ढोका बाहिर हुनेगरी बि।क। लाई हत्या गरेका थिए । पीडित जिल्ला सिंचाई कार्यालयमा ओभरसियर पदमा कार्यरत थिए ।

यी माथि उल्लेखित घटनाहरु सशस्त्र द्वन्द्वको समयमा सिन्धुपाल्चोक जिल्लामा अमानवीय ढंगले हत्या भएका घटनाहरू मध्ये प्रतिनिधिमूलक घटनाहरू मात्र हुन् । धेरै त्यस्ता घटनाहरू छन् जो युद्धसँग असम्बन्धित व्यक्तिहरुलाई हत्या गरियो । आफ्नै गाउँमा जीवनयापन गरी बसेका सर्वसाधारणहरूले आफन्त गुमाए । घटना भएको पनि धेरै वर्ष बित्यो । मृतकका आफन्तहरूले हालसम्म न्याय पाउन सकेनन् । समयक्रम सँगै कतिपय यस्ता अमानवीय घटनाहरूको यथार्थ अरूकालागि बिस्मृत हुन जान्छ अथवा अर्धस्मृति मात्र बाँकी रहनसक्छ । तर पीडा व्यहोरेका पीडितले कदापी बिर्सन सक्दैनन् । भनिन्छ, खुकरीको चोट अचानोलाई थाहा हुन्छ । सशस्त्र द्वन्द्वमा पीडित भएका नागरिकहरूले भर्भराउँदो, क्रियाशील र जाँगरिला आफन्तहरु गुमाएका छन् । उनीहरूका आफन्तको हत्याको घटना आफ्नै आँखा अगाडी स्मरण भइरहेको छ । उनीहरूको मनमा अहिले पनि बिभिन्न प्रश्नहरु उब्जिरहेकै छ । विगतका ती सत्य घटनाको इतिहासलाई बुझेर सत्यनिरुपण तथा मेलमिलाप आयोगले पीडितको पक्षमा विवेशील भएर, बिगतमा नोक्सानीमा परेकाहरूको असल मनसायलाई सम्मान गर्दै पुनः फेरि त्यो काहालिलाग्दो परिवेश नदोहोरियोस् भनेर चेतनशील प्रयास गर्नु पर्दछ ।
इन्सेक अनलाइनबाट

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.