‘उद्योग क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने’

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले उद्योग क्षेत्रलाई प्रोत्साहन गर्नु अहिलेको आवश्यकता भएको बताएका छन्। हेटौँडामा आयोजित उद्योग संघ मकवानपुरको ४६ औँ वार्षिकोत्सवमा उनले निजी क्षेत्रको लगानी सुनिश्चित गर्न सरकार गम्भीर भएको बताए ।

उनले उद्योगी व्यवसायीहरूलाई एकता कायम गर्न आग्रह गरे। स–साना संगठनमा विभाजित नभई एउटै मोर्चाबाट अघि बढेमा अधिकार र अवसर सजिलै प्राप्त हुने उनको भनाइ थियो। सरकार आम्दानी हुने क्षेत्रमा मात्र लगानी गर्ने नीति लिएको भन्दै उनले धार्मिक संरचनामा भएको अत्यधिक खर्चले अपेक्षित परिणाम नदिएको टिप्पणी गरे।

मुख्यमन्त्री लामाले निर्माण भएका शीत भण्डार र डाँडामा ठड्याइएका भ्यु टावरहरू प्रभावहीन बनेको बताए। एकीकृत योजना र उत्पादनमुखी कार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए। शिक्षा, उद्योग, पूर्वाधारलगायत सबै क्षेत्रमा सुधार आवश्यक रहेको धारणा पनि व्यक्त गरे।

प्रदेश सरकारकी उद्योग, वाणिज्य तथा भूमि प्रशासन मन्त्री शुक माया तामाङले उद्योग दर्तामा छुटको व्यवस्था गरिएको जानकारी दिइन्। उद्योग नीतिको तयारीमा उद्योगीहरूकै सुझावलाई समेटिएको उनले बताइन् । सिन्धुली र नुवाकोटमा औद्योगिक ग्राम निर्माणको काम अघि बढिरहेको बताउँदै उत्पादनसँग जोडिने काम प्राथमिकतामा रहेको उल्लेख गरिन्।

कार्यक्रममा प्रदेशसभा सदस्य एका लाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगायतले उद्योगको विस्तारले अन्य क्षेत्रको समृद्धिमा पनि टेवा पुग्ने विचार राखे।

उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माले उद्योग क्षेत्रको योगदान १५ प्रतिशतबाट ५ प्रतिशतमा झरेकोप्रति चिन्ता जनाए। उनले सरकारले उद्यमशीलतामा ध्यान नदिएको र विकास निर्माणमा न्यून बजेट छुट्याएको भन्दै आलोचना गरे।

वार्षिकोत्सवमा आयोजित समारोहमा केही उद्योग प्रतिष्ठानलाई सम्मान गरियो। कृषिजन्य साना उद्योगका रूपमा शुभ डेरी इण्डष्ट्रि, मझौला श्रेणीमा नेपाल पास्ता फुड्स र ठूला उद्योगतर्फ नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालिलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.