परदेशमा देश भेटिएको दिन

सञ्जीव पौडेल 

अस्ट्रेलियामा आएको दुई महिना पुग्नै लागेको थियो। परदेशको आकाशमुनि पाइला टेक्दा मनमा एक प्रकारको जिज्ञासा, डर, उत्साह र अप्ठ्यारोपन मिसिएको थियो। सांस्कृतिक भिन्नता, भाषाको फरकपन, अनुहार र जीवनशैलीको नयाँ वातावरण- सबै कुरा नौला लाग्थे। तैपनि, मनको भित्र कतै एउटा चाहना थियो- “जे होस्, यहाँ पनि आफ्नोपन भेटिन्छ कि?”
यी दुई महिनामा कहिले समुद्रको छालसँग मनको बह पोखियो, कहिले नजिकैको पार्कमा हरियालीसँग समय बिताइयो। तर त्यो “सम्बन्ध” भन्ने कुरा अझै अपुरो महसुस हुन्थ्यो। नेपाली मन त हो, हावामा पनि आफ्नै गन्ध खोजिरहन्छ। ती गन्धहरू त्यो दिन ब्रिसबेन सहरमा भेटिनेछन् भनेर मैले सोचेको पनि थिइनँ।

६ अप्रिल, २०२५ को दिन। बिहान बुहारीले भनिन्, “आज ब्रिसबेनमा नेपाल फेस्टिवल छ, तपाईंहरू जानुहोस्। मेरो त काम छ, जान मिलेन।” ‘काम’ भन्ने शब्द सानो भए पनि यहाँ अस्ट्रेलियामा यसको गहिरो अर्थ छ। यहाँ काम सानो वा ठूलो भनेर छुट्याइँदैन। चाहे भाँडा माझ्ने काम होस् वा अफिसको कुर्सीमा बसेर योजना बनाउने, सबै काम श्रमप्रधान हुन्। सबै काम गरिमामय छन्। यहाँको समाजले कामलाई केवल आर्थिक क्रियाकलाप नभएर जीवनको सम्मानको आधार मानेको छ। नेपालमा जस्तो श्रमलाई ठूलो र सानो भन्ने अनि हाकिम र कामदारबीच व्यवहारमा फरक गर्ने चलन यहाँ छैन।

बुहारीले यति भनेपछि हामीलाई खुसी लाग्यो। हामीले खोजेको सम्बन्ध पाइने भयो भनेर म र मेरी श्रीमतीले त्यो कार्यक्रममा जाने निधो गर्‍यौं। “आज सहर हेर्ने हो। नेपाली फेस्टिवल छ रे, जानुपर्छ,” भन्ने भयो। त्यहीँबाट सुरु भयो एउटा नयाँ अनुभवको यात्रा।

हामी बसेको ठाउँबाट ब्रिसबेन सहर जान बसमा लगभग ४५ मिनेट लाग्छ। बिहान ११ बजेबाट कार्यक्रम सुरु हुने कुरा थाहा थियो। हामी त्यही समयमा पुग्ने गरी बस स्टपमा पुग्यौं। हतार नगरी तोकिएको समयमा बस आयो। हेर्दा न कुनै सहचालक, न कन्डक्टर, चालक एक्लै थिए। सबैले आ-आफ्नो गोकार्ड निकालेर अगाडि र पछाडि छुवाउँदै थिए। प्रविधि सजिलो भए पनि नियम पालना गर्न कडाइ थियो। जसले नियम पालना गर्‍यो, उसैलाई सुविधा थियो। चढ्दा कार्ड छुवाउन बिर्सिएमा चर्को जरिवाना लाग्छ भन्ने सुनेको थिएँ, त्यसैले हामीले पनि ध्यान दिएर कार्ड छुवायौं। भाडा एकदमै सस्तो थियो- दुई घण्टासम्मको यात्राको लागि केवल ५० सेन्ट! यो देख्दा लाग्यो, विकसित देशको प्रविधि र नीतिमा मानिसको समय र श्रमको साँच्चै कदर गरिन्छ।

बसको सिटमा एक जना नेपाली दौरा-सुरुवाल र ढाका टोपीमा सजिएर बसेका थिए। मैले कुनै हिचकिचाहट बिना परिचय गरें। उनी धेरै वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका रहेछन्। उनीसँग कुराकानी गर्ने क्रममा मैले भाडा किन यति सस्तो होला भनेर सोधें। उनले भने, “यो भाडा सस्तो भएको धेरै भएको छैन। सरकारले सार्वजनिक यातायात सहज र सस्तो भए धेरैले निजी गाडी प्रयोग गर्दैनन्। बाटोमा जाम कम हुन्छ। सार्वजनिक यातायातप्रति आकर्षण बढाउन यस्तो गरिएको हो। यहाँ सार्वजनिक यातायात, रेल, बस सबै सरकारको मातहतमा सञ्चालित छन्। निजी गाडी छैनन्।” बसको झ्यालबाट सहरको गति हेर्दा मनभित्र छुट्टै उत्साह थियो- “नेपाल कहाँ भेटिएला?”

“नेपाल फेस्टिवल २०२५” नाम दिइएको उक्त कार्यक्रम शुरुहुने ठाउँ ब्रिसबेन सहरको मुटुमा ब्रिसबेन नदीको किनारमा थियो। हामी बसबाट ओर्लियौं। साउथ बैंक नजिक पुग्दा टाढैबाट डम्फु, मादल र पञ्चेबाजाको आवाज सुन्न थालियो। नेपाली झण्डाले रङ्गीन भएको त्यो वातावरण देख्दा, जुन देश हजारौं किलोमिटर टाढा थियो, एकछिनलाई लाग्यो, यही कतै नेपालको कुनै सहर पो हो कि? ब्राह्मण, गुरुङ, मगर, नेवार, थारु, तामाङ, शेर्पा, राई, लिम्बू सबै जातिका दिदीबहिनी तथा दाजुभाइहरू आ-आफ्नो मौलिक पहिरनमा थिए। कसैको नेपाली दौरा-सुरुवाल र ढाका टोपी, कसैको गुन्युचोली, कसैको तामाको फुली, कसैको नेवारी दौरा-सुरुवाल, कसैको थारु पोशाक थियो। ती पोशाकहरू केवल शरीर ढाक्ने लुगा मात्र थिएनन्- ती इतिहास थिए, पहिचान थिए, नेपालीको गौरव थिए।

हामी पनि त्यो प्रभातफेरीमा सहभागी भयौं। नेपाली गीतको तालमा, झण्डाको आवाजमा, संस्कृति र सभ्यताको त्यो लहरमा हामी फेरि एकपटक आफ्नै अस्तित्वसँग जोडियौं। नेपाली भाषा बोल्न घरका मान्छे बाहेक अरू मान्छे भेट्टाउन महिनौं लाग्छ कहिलेकाहीँ। त्यहाँ सबैले एउटै भाषा नेपालीमा बोलेको सुन्दा लाग्यो मेरै गाउँमा पुगेको छु। संसारमा भाषाको माध्यमले अपनत्व बढ्दो रहेछ। सबैले नेपाली भाषामा कुरा गरेको सुन्दा आहा! कति आनन्द लाग्यो।

साउथ बैंकबाट सुरु भएको त्यो सांस्कृतिक र्‍याली ब्रिसबेनको बजार परिक्रमा गर्दै किङ्गजर्ज स्क्वायरमा पुग्यो। सहरको पक्की सडकमा, विशाल भवनहरूको छायाँमा, हामी हजारौं नेपालीहरूको आवाज बोकेर हिँडिरहेका थियौं। दश हजारभन्दा बढी नेपालीहरू अनुशासित रूपमा विभिन्न सांस्कृतिक झाँकी सहित सहर परिक्रमा गर्दा त्यहाँका स्थानीय बासिन्दा पनि चासोपूर्वक हेरिरहेका थिए। हाम्रा छोराछोरीले आफ्नो संस्कृति नबिर्सिऊन् भनेर बाबु आमाले लगाइदिएका ती मौलिक पहिरन, हामी परदेशी भए पनि देशलाई नछोडौं भनेर साथमा बोकेको भाषा, त्यो नै हाम्रो सबैभन्दा अमूल्य सम्पत्ति रहेछ। नेवारी लाखे नाच, थारुको नाच, मारुनी नाच, ब्राह्मणहरूले खैंजडीमा भजन, तामाङसेलो साच्चै त्यहाँ एउटा सानो नेपाल नै थियो। त्यहाँ न कसैलाई मानपदवी थियो, न कसैलाई ओहदा, सबै नेपाली थिए। एउटै भावना, एउटै झण्डा, एउटै भाषा। आहा!

त्यो दिन, मैले “घर” भेट्टाएँ- ईंटा र ढोकाको घर होइन, अनुभूतिहरूको घर। भाषाको मिठास, संस्कृति र समुदायको रङ, अनि आत्मीयताको सुगन्धले बनेको घर। विदेशमा नेपालीपनको त्यो फूल फुलेको देख्दा लाग्यो- देश टाढा भए पनि देशप्रतिको माया सधैं मनमा हुन्छ। अस्ट्रेलियाको आकाशमुनि, दक्षिणी गोलार्धको त्यो रमाइलो बिहान, जीवनमा कहिलेकाहीँ यस्ता दिनहरू आउँछन् जुन केवल सम्झना मात्र नभएर आत्मा भएर बस्छन्। ब्रिसबेनको त्यो नेपाली फेस्टिवल त्यस्तै दिनहरू मध्येको एक बन्यो- जसले टाढा परदेशमा रहे पनि नेपाल नजिकै भएको महसुस गरायो। अस्ट्रेलियाको नेपाली समुदायले हरेक २ वर्षमा यो महोत्सवलाई पर्वको रूपमा मनाउने गरेको रहेछ। एनआरएनए अस्ट्रेलियाको आयोजनामा हुने यस कार्यक्रमको क्यालेन्डर नै बनाएर गर्ने गरिएको रहेछ।

त्यही क्षण, मनमा गहिरो अनुभूति जन्मियो- एकछिनलाई लाग्यो, आज सायद आफ्नोपन भेटियो। ‘मिनी नेपाल’ को वास्तविक झलक पाइयो। त्यो दृश्यमा लाग्थ्यो सिंगो नेपाल नै अस्ट्रेलियामा बसालिएको हो। नेपालीहरूको त्यो उपस्थिति, जुन केवल संख्या मात्र थिएन, त्यो नेपाली अस्तित्वको आवाज थियो। सहर परिक्रमापछि किङ्गजर्ज स्क्वायरमा औपचारिक कार्यक्रमको लागि स्थान तोकिएको थियो। त्यहाँ पुग्दा अर्को आनन्द लाग्यो। त्यसैबीच नेपाली खानाका स्टलहरूले अर्कै संसार बनाएका थिए। सेल रोटीको बास्ना, मःमःको बाफ, गुन्द्रुकको अचारको वाश्ना, चाउमिनको स्वाद सबैले भनिरहेका थिए, “नेपाल यहीँ छ।”

प्रभातफेरिपछि किङ्गजर्ज स्क्वायरमा सांस्कृतिक कार्यक्रम सुरु भयो, जहाँ नेपाली पाठशालाका (नेपाली भाषा र संस्कृति सिकाउने उद्देश्यले नेपाली पाठशालाको नाममा बालबालिकाहरूलाई हप्ताको एक दिन सिकाइने गरिएको रहेछ) नानीबाबुहरू आ-आफ्नो बालमन र कलाले दर्शकहरूको मन जितिरहेका थिए। लोकनृत्य, भजन, आधुनिक गीत सबैले नेपालीपनको मिठास भरिदिएका थिए। कार्यक्रमको उद्घोषण पनि रोचक किसिमले फरक-फरक साना बालबालिकाहरूले गरेका थिए। मञ्चमा कुनै अतिथि थिएनन्। आसन ग्रहणको लामो सूची थिएन। अतिथि लगायत सबै दर्शकदीर्घामा नै थिए। मञ्च कार्यक्रम सञ्चालन गर्ने उद्घोषक र नाचगान गर्नेहरूका लागि मात्र प्रयोग गरिएको थियो।
सांस्कृतिक कार्यक्रमकै बीचमा औपचारिक कार्यक्रम राखिएको थियो। जहाँ अस्ट्रेलियाका प्रिमियर डेभिड क्रिसाफोली प्रमुख अतिथि थिए। विपक्षी दलका नेता र अस्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवको पनि गरिमामय उपस्थिति थियो।

प्रिमियर क्रिसाफोलीले नेपाली समुदायको खुलेर प्रशंसा गरे। उनले भने, “तपाईंहरूको देश सुन्दर छ, तर तपाईंहरूले अस्ट्रेलियालाई आफ्नो नयाँ घर बनाउनु भएकोमा हामी धन्य छौं। तपाईंहरूको मिहिनेत, परिवारप्रतिको माया र सपनाहरूले हामीलाई अझ राम्रो बनाउँछ।” उनले आफ्नो विगत सम्झँदै भनेका थिए, “६५ वर्षअघि आफू पनि इटालीबाट आप्रवासी भएको स्मरण गर्दै, उनले आप्रवासीहरूको योगदानप्रति गहिरो कृतज्ञता व्यक्त गरे।” राजदूत चित्रलेखा यादवले नेपाल सरकारको तर्फबाट शुभकामना दिँदै सबै नेपालीहरूलाई आफ्नो भाषा, धर्म, संस्कार र संस्कृति बचाइराख्न आग्रह गरिन्। उनले जोड दिँदै भनिन्, “हाम्रो परम्परा भावी पुस्तालाई हस्तान्तरण गर्नु अत्यावश्यक छ।”

कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजीको विशेष शुभकामना सन्देश पनि पढेर सुनाइयो- जुन नेपाली समुदायको योगदानका लागि धन्यवादसहितका भावनाले भरिएको थियो। एनआरएनए अस्ट्रेलियाको आयोजनामा भएको यस कार्यक्रममा महासचिव सन्तोष कुँवरले नेपाल फेस्टिवलले विदेशमा नेपाली संस्कृति जोगाउने र यो प्रवासी नेपालीहरूको पहिचान, भावना र संस्कृतिको संरक्षण गर्ने बलियो माध्यम बनेको बताए। कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष विनोद श्रेष्ठ, सचिव स्वतन्त्र प्रताप शाह, ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल लगायतले आफ्ना भनाइ राखेका थिए।

साँझ पर्न लागेको थियो तर मन अझै उज्यालो हुँदै थियो। कारण थियो- कन्दरा समूहको सांगीतिक प्रस्तुति। “सान्चै नेपाल त भेटियो…” भन्ने गीत गुन्जिँदा एकछिनको लागि आँखाबाट आँसु झर्न खोज्दै थियो, गर्वले। राष्ट्रिय कलाकारहरू तथा ब्यान्डहरूको प्रस्तुतिमा रमाएको जनसागर ब्रिसबेनमा नभएर नेपालकै काठमाडौं, पोखरा, चितवनमा आयोजना भएको कुनै भव्य सांगीतिक मेला जस्तो लाग्थ्यो। नेपाललाई चिनाउने अन्तर्राष्ट्रिय मञ्चका रूपमा यस महोत्सवले नेपाली संस्कृति, भाषा, सङ्गीत र पहिचानलाई गर्वका साथ प्रस्तुत गरेको थियो।
त्यो उत्सवमा हजुरबुवा पुस्तादेखि नाति पुस्तासम्म सहभागी थिए। सँगै रमाउँदै थिए- अनुभव र ऊर्जा, भाषा र भविष्य। त्यो जमघट नै थियो ‘परम्पराको हस्तान्तरण’। पुस्ता पुस्ताबीचको सम्बन्ध जोड्ने काम भएको थियो। परदेशमा भौगोलिक दूरीले देशलाई टाढा राख्न सक्ला, तर संस्कृति, माया र सम्झनाले देशलाई सधैं मनको नजिक राख्छ। त्यो दिन केवल एउटा पर्व थिएन। त्यो दिन नेपाली हुनुको गर्वले छाती फुलेको दिन थियो। त्यो दिन- परम्परा, पहिचान र प्रेमको सङ्गम भएको दिन थियो। त्यो दिन “परदेशमा देश भेटिएको दिन” थियो।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.