कथा : बोनस

सन्तु गुरूङ

फ्याक्ट्री अगाडिको आँगनमा गेट मिटिङ चलिरहेको थियो। गाउँका एक सचेत युवा छिरिङले भाषण गरिरहेको थियो। “चिया बगानमा काम गर्ने कमारा होइन, मेहनती र स्वाभिमानी मजदुर हुन् जसलाई देशको संविधानले सुरक्षा प्रदान गरेको छ। देशको कानुनले मजदुरको हक र हित सुनिश्चित गरेको छ तर हाम्रो अवस्था हेर्दा यहाँ न त देशको संविधान न त कानुन लागु छ। के यो हाम्रो देश होइन? के हामी यस देशको नागरिक होइनौं?” छिरिङ गर्जियो। थपडी र सिटी गुन्जियो। थाकेका ती राता आँखाहरू रिसले रक्ताम्य बन्यो। “मजदुर एकता जिन्दाबाद! अन्याय अत्याचार बन्द गर! हाम्रो बोनस छिटो दे! हाम्रो पैसा झट्टै दे !” गगनभेदी नारा चर्कियो।

दुई हात हावामा हल्लाएर छिरिङले जनतालाई शान्त बन्ने इशारा गर्यो। त्यसैले पनि नहुँदा उसले दुई हात जोडी बिन्ती टक्रायो। बल्ल तल्ल अरु उपस्थित नेताहरूको निवेदनले भीड अलिक शान्त बन्यो। छिरिङले भाषणलाई जारी राख्दै भन्यो, “हामीले धेरै पल्ट मालिक पक्षको दैलो ढकढकायौ तर उ त बहिरा रहेछ। हामीले सरकारलाई थुप्रै उजुरी चढायौ, तर सरकार त अन्धो रहेछ। जहिले पनि हाम्रो चाडपर्व हुन्छ मालिक बहिरा र सरकार अन्धो बन्छ। हामीले दुःख बिमार पर्दा कहिले हात फैलाएका छैनौं। भई नभई परिस्थितिसँग जुझेर बसिरहेका छौं, के वर्षमा एकपल्ट हाम्रो नानीहरूले नयाँ लुगा जुत्ता लगाउँदा तिमीहरूलाई आरिस लाग्छ? के हामीले मिठो मसिनो खाँदा तिमीहरूलाई रिस उठ्छ? हामीले तिम्रो भाग खोसेको हो र? हामीले हाम्रो भागको अधिकार मागेका हौ। हामीले तिमीलाई भिक पनि मागेका होइनौँ। हामीले हाम्रो पसिनाले कमाएको हकको कुरा गरेको।” “अब हामी मजदुर आन्दोलन (च्याक्क आवाज आयो) चर…आ……या…! एक्कासी छिरिङको अनुहार रक्ताम्य बन्यो।

कसैले परिस्थिति बुझ्न अघि नै माथि डाँडाबाट कोही कराउन थाल्यो। “खुब जानिस तैले! तेरो आमाले दुःख गरेर त्यत्रो पढायो खै के नापिस? सहर गएर ठूलो काम गर न हामी कुल्लीहरूसित के दाँजो गर्छस्।” ” मेरो जुजु बाजे, बाजे, बाउ, मलाई अहिलेसम्म तेरो परिवारले पालेको हो र? हाम्रो मालिकले यतिका वर्षसम्म हामीलाई हेरेकै हो! यो वर्ष भनेको जस्तै नदिँदा के भयो त मलाई बोनस चाहिँदैन! तैँहरू राख।

उकालो फर्केर अन्तरेको कुरा सुनेपछि मात्र सबैले बल्ल बुझे। ढुङ्गा हानेर छिरिङलाई चोटिल बनाउने त अन्तरे रहेछ। त्यसको लडबडेको बोली र हल्लिएको शरीर देखेर त्यो साह्रै मातेको स्पष्ट थियो। कुरा बुझिसकेपछि तन्नेरीहरू एकाएक तात्तिएर अन्तरेतर्फ दगुरे, अरुहरू कराउँदै हल्ला गर्दै पछ्याए। एकाएक माहोल हिंसक बन्यो। केटाहरुले अन्तरेलाई चारैतिरबाट लात घुस्सा हान्न थाले। अन्तरे पीडामा करायो, रुन थाल्यो। रक्ताम्य शरीर र रगतले छ्यापछ्याप्ती भिजेको लुगामा छिरिङ अन्तरेलाई बचाउन दौडियो। आफ्नो शरीरले ग्वाम्म अन्तरेलाई छोपेर उसले अब हिंसा नगरिदिने बिन्ती चिच्याई चिच्याइ गर्यो। अन्ततः माहोल शान्त बन्यो। त्यतिखेरसम्म अन्तरे कुटाई खाएर हो कि रक्सी बेसी धोकेर हो बेहोस बनिसकेको थियो। बुढापाकाहरूले सल्लाह गरेर अन्तरेलाई घरसम्म लगिदिने युवाहरूलाई आग्रह गरे। गाउँका दुई युवाहरूले अन्तरेलाई बोक्न उचाले खुत्रुक्क अन्तरेको कमिजको गोजीबाट केही भुइँमा खस्यो। एकजनाले वरिपरि खोजखाज पारेर सबैलाई देखाए। रबर ब्यान्डले बाँधेको पाँच सयका केही नोटहरु थियो।

नेपालीको सबैभन्दा ठूलो चाड दशैं मुखमै आइसक्यो छ। अब मुस्किलले पन्द्र दिन जति मात्र बाँकी रहेको छ। घमाइलो दिनहरूको आगमन साथै दशैँ किराहरूको रगरगी बढ्न थालेको छ। चराचरुङ्गीहरूले सुमधुर गीत गाइरहेका छन्। घर आँगनमा फूल ढकमक्क फुलेको छ र वनमा हरियाली छाएको छ। बजारमा नयाँ पोशाक, जुत्ता र घरसज्जाको समानहरु सजिन थालियो तर गाउँघरमा अझै पनि दशैंको रौनक छाएको छैन। उत्सवको खुसियाली कमानवासीहरूको मुहारमा छाएको छैन अझै पनि त्यही चिन्ताका धर्साहरू अनुहारमा कोरिएका छन्। चियाबगानका मजदुरहरुले दशैं बोनस पाएको छैन। पहाडका मजदुर युनियन नेताहरू मधेशका लेबर अफिस धाएको धाएकै छन्। सरकार र मालिक पक्षसँग बैठक लगातार बसिरहेका छन्। तर बोनस बार्ह प्रतिशत देखि एक सिडीमाथि चढेको छैन। अघिल्लो सालहरूमा बीस प्रतिशत को दरले बोनस पाउँदा समेत दशैँ टार्न हम्मेहम्मे परेको थियो। रुपैयाँको मूल्य घटेको हो कि जीवनको दाम बढेको बुझ्न गाह्रो छ। अधिकतर कमानवासीहरू चियाबगानबाट प्राप्त हुने ज्यालामै निर्भर छन्। वैकल्पिक कमाइको संसाधन खोज्ने वा रोज्ने व्यवस्था न त सरकारले गरिदिएको छ न त मालिक वर्गले कृपा नै। हत्केलामा गन्न सकिने केही चालाक, बाठा,भाग्यमानी र ढटुँवाहरू मात्र यस विकट परिस्थितिमा पनि ढुक्क छन्। कनट्रयाकटरहरुले बिल पाइसकेका छन्, सेनाबाट अवकाश प्राप्तहरूको पेन्सन छँदैछ। सरकारी जागिरेहरूको पनि बोनस तय छ, पार्टीका पदाधिकारीहरुले पनि अध्यक्षबाट टिका निम्तो पाइसकेका छन्। मर्का त यहाँ अशिक्षित, अज्ञानी, अबुझ, अपरिवर्तनशील, अपरिपक्क मजदुरहरूलाई मात्र परेको छ। मुटुको ढुकढुकी दिन बित्दैपछि बढ्दैछ। यदि मजदुर युनियन, सरकार र मालिक पक्षहरू बोनस लिएर कुनै ठोस निर्णयमा नपुगे, आधाभन्दा धेरै चिया बगानवासीहरू मुटु फुटेर शायद आफै मर्नेछ।

अन्तरेको झोकी स्वभाव छ। अझ रक्सीको दुई बुँद जिब्रोमा झरेपछि त साँड बन्छ। वरिपरिकाहरुलाई बसि नसक्नु पार्छ। जिउमा भूत चढेर थरथर कामदै लडाई गर्न आतुर बन्छ। सिधा साधालाई कुटिहाल्छ र त्यस्तै रिस्सा बाट कुटाई पनि खान्छ सासु ससुरा, घर छिमेक, आफन्त सबैले सम्झाई बुझाई गर्न नखोजेको होइन। तर अन्तरे उल्टै उनीहरुमाथि जाई लाग्छ। त्यसैले “सबसे भला चुप”। अन्तरे सत्ताधारी नेताहरूको प्रिय बन्न सकेको छ। नारा जुलुसमा सबैभन्दा अघि, अन्ध्यारो रातमा मातेर विपक्षीहरुलाई मुख छाड्न माहिर र त्यस्तै परेको खण्डमा कुटाकुट गर्न पनि पछि नहट्ने पार्टी कार्यकर्ता हो अन्तरे।

अन्तरेको घरमा बुढीआमा स्वास्नी र दुई सा-साना छोरीहरू छ। स्वास्नी चियाबगानमा काम गर्छिन् र दुई छोरीहरू गाउँकै सरकारी विद्यालयमा पढ्छ। चियाबगानबाट आमाले अवकाश पाएपछि त्यसको स्वास्नीले चिया बगानमा हिँडेर घर धान्न थालेकी हो। पति पत्नीमा जमिन आकाशको फरक छ। अन्तरेको पत्नी सहनशील, मृदुभाषी र मिलनसार छ। यदि यी गुणहरू उसमा नभैदिएको भए अन्तरे जस्तै जडियाँ, कचडे, हिंसक र स्वार्थी लोग्नेसँग यतिका वर्षसम्म वैवाहिक जीवन धान्न गाह्रो थियो।

पहाडको सबै चियाबगानहरुमा तनावको स्थिति छ। गेट मिटिङ धर्ना जुलुस चारैतिर जोडसोडले चलिरहेको छ। मजदुर नेताहरू शीत निन्द्राबाट जागेर भाषण ठोकिरहेको छ। दशैँको मुखमा बोनस लिएर आन्दोलन हुने एक प्रकारको वार्षिक कार्यक्रम नै भइसकेको छ। वर्षभरि मजदुरले ठाडो भित्ता चढी गाँज फाँड्दा, कैयौँ किलोमिटर किटनाशकको ड्रम बोकेर हिँड्दा, हिउँदो बर्खा नभनी चियाबुट्टाको स्याहार-सुसार गर्दा मालिकले घाटा देख्दैन तर बोनस भन्ने साथै उसले आफ्नो बही खाता पल्टाउन थाल्छ। चियाबगान बन्द गर्ने धम्की दिन्छ। नेताहरूलाई टेरपुच्छर लाउँदैन, सरकारले भनेको मान्दैन। अन्तत मजदुरहरूलाई बाटोमा निक्लिन कर लाग्छ।

अन्तरीको स्वास्नीलाई हतार छ तर अन्तरे अझै पनि बिस्तरामै छ। गाउँको ठूलो ठेकेदारले बिल पाएको खुसियालीमा हिजो राति भोज खुवाएको हुँदा नेताको पुच्छरे अन्तरेले अबेरसम्म रमाइलो गरेको थियो। गाउँका सबैजना गेट मिटिङमा सहभागिता जनाउन कारखाना परिसरमा पुगिसकेको छ। बोनसको रकम ज्यादा नभए दशै टार्न हम्मेहम्मे पर्ने सबैलाई थाहा छ। त्यसैले जात, धर्म, पार्टी सबै भुलेर केवल मजदुर भई सबैजना बीस प्रतिशत बोनसको निम्ति लागि परेको छ। दस बज्दा समेत अन्तरे उठेको थिएन। गेट मिटिङमा सहभागिता जनाउन नपाए गाउँ समाजका मानिसहरूले के सोच्लान् भनी अन्तरेको स्वास्नी को मन भुटभुट भइरहेको थियो। तर अन्तरेलाई चिया खाजा नपस्की, नभनी घरबाट निक्ले ठूलो जोखिम मोल्न पर्नेछ। उ सँगसँगै छोरीहरुले पनि कुटाई खानुपर्ने छ। घरमा हफ्तौं अशान्तिले बास गर्नेछ। धर्म संकटसँग जुझ्दै गर्दा अन्तरेको मोबाइल बज्यो। ठूलो नेताको फोन थियो। “सरको फोन” भन्दै उसले अन्तरेलाई ब्युँझायो। “हजुर सर! हुन्छ सर!” भन्दै अन्तरे हतार पतार उठ्यो। मुख पनि राम्ररी नधोई त्यसले लुगा फेर्दै भन्यो पार्टीको एउटा जरुरी सभा छ। “अब सरले बोल्यो पछि पोल्यो। बीस पर्सेन्ट बोनस पक्कापक्की हुन्छ अब” भन्दै अन्तरे हतारिँदै घरबाट निस्क्यो।

छिरिङ सङ्घर्षको आगोमा तपेर, दुर्भाग्यले पिटीपिटी बनाएको धारिलो औजार हो। उसले धनको विषयमा विस्तृत तर्क राख्न सक्छ तर आफैं फकिर जस्तो जीवनयापन गर्न रुचाउँछ। उसले सबमा प्रेम बाँड्ने सन्देश दिन्छ तर आफै योगी बन्छ। न्याय र अधिकारको निम्ति मरिमेटिने हुंकार गर्छ तर कसैलाई चोट पुर्याउने सोच समेतले उ डराउँछ। शिक्षाको ताज पहिरिएर पनि अशिक्षितहरूको बीचमा बस्न मन पराउने अनौठो प्राणी छिरिङ! छिरिङ गाउँको प्राइमरी स्कुलमा तीन कक्षा पढ्दा उसको आप्पाको मृत्यु भयो। आपा गयो घरमा शान्ति आयो। रक्सीले आप्पाको ज्यान लियो। आज छिरिङ जे छ त्यो उसको आमाको देन हो। दस नंग्रा खियाएर उनले छिरिङलाई असल मान्छे बनाउने प्रयास गरेकि हो। आफ्नो इच्छा, आकांक्षा र पेटलाई मारेर पनि उनले छिरिङलाई राम्रो शिक्षा दियो। तर छिरिङ पनि हुने बिरुवा नै निक्ल्यो। अहिले उसले जादपुर विश्वविद्यालयमा पीएचडी गर्दैछ। चियाबगानमा काम गर्ने मजदुरहरूसित वर्षदेखि चलिरहेको शोषण अन्याय अत्याचार पक्षपात र अमानवीय व्यवहार देखेर छिरिङ धेरै चिन्तित रहन्छ। विश्वविद्यालयका अरु सचेत युवाहरूको संगत र प्रोफेसरहरूको दिशा निर्देशमा ऊ अझै जागरुक बनेको छ। उसले चियाबगानको जीवन भोगेको छ। दुःख कष्टहरू अनुभव गरेको छ। त्यसैले त ऊ मालिक वर्गले बोनसमा गडबडी गरेको खबर सुन्न साथ विश्वविद्यालयबाट आकस्मिक विधा लिएर घर आयो। गाउँ आइपुग्ने साथै छिरिङले बीस प्रतिशत बोनसको निम्ति दौडधुप गरेको गरेकै छ। मजदुर युनियनका नेताहरूसँग भेटेर व्यवस्था जान्न होस् कि मजदुरहरुलाई भेटेर अवस्था बुझ्नहोस् उसले केही सकारात्मक गर्ने प्रयास गर्दैछ। कानुनका प्रावधान बुझ्न र संविधानले मजदुरलाई दिएको अधिकार जान्न उसले लगातार आफ्नो प्रोफेसरहरू र विश्वविद्यालयका वरिष्ठ विद्यार्थीहरूसँग सम्पर्क बनाइराखेको छ। उसको सहपाठीहरूले पनि आ-आफ्नै प्रकारले सहयोग पुर्याइरहेक छन्। गाउँका अधिकतर युवा युवतीहरू जीविका उपार्जनको निम्ति बाहिरिएका छन्। जो छन् असन्तुष्ट छन्। जो सन्तुष्ट छन् उनीहरु कुनै न कुनै नेताका झोले बनेका छन्। आज छिरिङलाई सम्पूर्ण गाउँका मानिसहरूले गेट मिटिङमा बोलिदिने निवेदन गरेको छ। पढेको लेखेको एक होनहार युवा मानी गाउँ समाजका वरिष्ठ व्यक्तिहरूले उसलाई निम्तो दिएका हुन्।

भुटेको भातसँग रङ चिया खाई सकेपछि छिरिङले गेट मिटिङमा जाने तयारी गर्न थाल्यो। केही कागजपत्र दस्तावेज इत्यादि डायरीमा च्यापेर झोलामा हाल्यो। आमालाई जान्छु भनी राखेर छिरिङ घरबाट निस्क्यो।

 

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.