मकवानपुर । हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो १२ औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाएको छ ।
बोर्ड अध्यक्ष प्रताप विष्टको अध्यक्षता, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य र प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको विशिष्ट आतिथ्यतामा वार्षिकोत्सव मनाइएको हो ।
प्रमुख लामाले नागरिकको अपेक्षा अनुसार सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताउँदै न्यूनतम १० युनिटसम्मको पानी खपत गर्ने उपभोक्ताको महसुल मिनाहा गरिएको जानकारी दिइन्। उनले जनमुखी सेवा दिन आग्रह समेत गरिन्।
कार्यक्रममा उत्कृष्ट सेवा दिने कर्मचारी, नियमित महसुल तिर्ने उपभोक्ता, सूचना दिने नागरिक र समाजसेवीहरूलाई सम्मान गरिएको थियो। साथै, पहिलो उपभोक्ता समिति मयूरधाप खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गोपालबहादुर थपलियालाई विशेष सम्मान गरिएको थियो।
बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहन कुमार शाक्य, पत्रकार महासंघ बागमती अध्यक्ष कृष्ण सारू मगर, स्थानीय वडाध्यक्षहरू, बोर्ड सदस्य इन्द्र नेपाल लगायतले मन्तव्य व्यक्त गरेका थिए। बोर्डका निमित्त प्रमुख विष्णुप्रसाद सापकोटाले विगत वर्षको प्रगति विवरण प्रस्तुत गरे।
