मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–३ स्थित त्रिभुवन राजपथ सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार ब्रेक फेल भएको कारणले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गोपाली गाउँबाट थानाबजारतर्फ गइरहेको बा ३ ख ५९९० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट बाहिरिएर पैदल यात्रुहरूलाई ठक्कर दिँदै थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको घरभित्र पसेको थियो।
दुर्घटनामा परेर थाहा नगरपालिका-९ का ४० वर्षीय कृष्ण बलामी र सप्तरीको विष्णुपुर गाउँपालिका-५ का ३५ वर्षीय लोकेन्द्र कुमार ठाकुर गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारको लागि अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा झम्केश्वरी माविका शिक्षक रघुनन्दन यादव र शिखरकोट मालपोत कार्यालयका कर्मचारी कमलेश कुमार साह गम्भीर घाइते भएका छन्। उनीहरूको अहिले हेटौँडास्थित विभिन्न अस्पतालमा उपचार भइ रहेको छ। दुर्घटनामा सामान्य घाइते भएका बारा जितपुर सिमरा उपमहानगरपालिका-१७ का छेयाङ दोर्जे लामा र कोल्बी नगरपालिका–१ का रामगुलाम चौधरीको पनि स्वास्थ्य परीक्षण गरी उपचार थालिएको प्रहरीले जनाएको छ।
दुर्घटना पछि इलाका प्रहरी कार्यालय पालुङबाट घटनास्थलमा पुगेको टोली घाइतेको उद्धार तथा ट्राफिक व्यवस्थापनमा खटिएको थियो। बसको ब्रेक सिस्टममा समस्या आएको हुन सक्ने अनुमान गरिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
त्रिभुवन राजपथजस्तो पुरानो, साँघुरो र जोखिमयुक्त सडकमा सवारीसाधनको अवस्था, नियमित मर्मत र चालकको सावधानी अत्यन्त जरुरी रहेको स्थानीयवासीको भनाई छ ।
