मनहरीले कृषिमा समर्थन मूल्य तोक्ने

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

गाउँपालिकाले आगामी वर्ष पालिका क्षेत्रमा उत्पादन हुने कृषि उपजको न्यूनतम मूल्य निर्धारण गरी समर्थन मूल्य तोक्ने निर्णय गरेको हो। यस निर्णयलाई सहकारी संस्थामार्फत कार्यान्वयनमा ल्याइने छ। पालिकाका अध्यक्ष रञ्जन कालाखेतीले गाउँसभाको १७ औँ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषकको हितमा प्रभावकारी कार्य अघि बढाइने जानकारी दिए ।

गाउँपालिकाले खेतीयोग्य तर हाल बाँझो अवस्थामा रहेको जमिनको वास्तविक तथ्यांंक संकलन गर्ने र त्यसलाई उत्पादनमा ल्याउने योजना अघि सारेको छ। यसका लागि मकै खेतीलाई प्राथमिकतामा राखी बीउ तथा कृषि उपकरणमा अनुदानको व्यवस्था गरिनेछ। माटो परीक्षणको आधारमा आवश्यक चुन र सूक्ष्म तत्वमा ५० प्रतिशतसम्म अनुदान दिने नीति पनि अघि सारिएको छ। पहिलेको आर्थिक वर्षदेखि सञ्चालनमा रहेको उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम र निःशुल्क माटो परीक्षण सेवालाई आगामी वर्षमा पनि निरन्तरता दिइने भएको छ।

गाउँपालिकाले सम्भाव्य क्षेत्रको पहिचान गरी तुलनात्मक लाभ हुने बाली तथा वस्तुहरूको उत्पादन प्रोत्साहन गर्ने नीति लिएको छ। पकेट क्षेत्र घोषणा, सामूहिक खेति, करार खेती तथा चक्लाबन्दी खेती संचालनलाई समेत प्रोत्साहन गरिनेछ। बाली बीमा कार्यक्रम उत्पादन सम्भावना रहेका क्षेत्रमा कार्यान्वयन गरिनेछ। यस कार्यक्रममा सहभागी हुन इच्छुक कृषकहरूलाई सहज पहुँचको व्यवस्था मिलाइनेछ। कृषकको वित्तीय सेवामा पहुँच विस्तार गर्न सहुलियत कार्ड वितरण गरिनेछ। कृषि प्रवर्द्धनका लागि तालिम, मेला, कृषक दिवस, पाठशाला, उत्कृष्ट कृषक सम्मान, बाली उपचार शिविरजस्ता कार्यक्रम सञ्चालन गरिने नीति तय गरिएको छ।

गाउँपालिकाले गर्भवती महिलाका लागि निःशुल्क आधारभूत स्वास्थ्य परीक्षण तथा भिडियो एक्सरे सेवा सञ्चालन गर्ने निर्णय पनि सार्वजनिक गरेको छ। पालिकाभित्र पूर्ण संस्थागत सुत्केरी सुनिश्चित गर्ने अभियान चलाइनेछ। साथै, कडा रोग लागेका, अति विपन्न, असहाय र पूर्ण अपाङ्गता भएका व्यक्तिका लागि एम्बुलेन्स सेवामा छुटको व्यवस्था गरिने छ। गाउँपालिकामा बसोबास गर्ने चेपाङ, बोटे, बनकरीयाल, मुस्लिम र दलित समुदायलाई विकासको मूलप्रवाहमा ल्याउने योजना पनि आगामी आवको नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

ज्येष्ठ नागरिकहरूको लागि दिवा विश्रामस्थल निर्माण गरिनेछ। उनीहरूका लागि बालबालिका तथा युवासँग अन्तरसम्वाद कार्यक्रम सञ्चालन गरिने योजना छ। पालिकाभित्र सम्भावना रहेका पर्यटकीय क्षेत्रहरूको पहिचान, विकास र व्यवस्थापन गर्न कानुनी संरचना निर्माण गरी ‘मनहरी पर्यटन विकास बोर्ड’ गठन गरिनेछ। पूर्वाधार विकासतर्फ रजैया–लामिटार–चकरी सडक तथा रजैया–दर्दरा पक्की पुल समयमै निर्माण सम्पन्न गर्न सहयोग र समन्वय गरिनेछ। पालिकाभित्रका अन्य महत्त्वपूर्ण सडकमा कालोपत्रे, ढलान तथा ग्रावेल गर्ने कामलाई पनि निरन्तरता दिइने उल्लेख छ।

गाउँपालिकाले कसैको मृत्यु भएमा अध्यक्ष वा उपाध्यक्षले उपस्थित भई समवेदना व्यक्त गर्ने र सम्बन्धित वडाको सिफारिसमा मृत्यु संस्कारमा  २० हजार रुपैयाँ सहयोग गर्ने नीति आगामी वर्षमा पनि निरन्तरता दिने जनाएको छ।

गाउँपालिकाले आगामी आवको वार्षिक बजेट असार १० गते सार्वजनिक गर्ने तयारी गरेको छ।

By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.