मकवानपुर। विश्वभर विविध कार्यक्रमका साथ शुक्रबार विश्व जनसङ्ख्या दिवस मनाइएको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस हरेक वर्ष जुलाई ११ तारिखका दिन मनाइन्छ, जसले विश्वभर जनसङ्ख्याको अवस्थाबारे चेतना फैलाउने र आगामी नीति तथा योजनामा यसको सन्तुलन सुनिश्चित गर्ने उद्देश्य राख्दछ। यस वर्ष पनि संसारभरका देशहरूमा जनसङ्ख्याका विविध पक्षमा केन्द्रित कार्यक्रमहरू, छलफल, गोष्ठी र विचारविमर्श आयोजना गरिएका छन्।
संयुक्त राष्ट्रसंघका तथ्याङ्कअनुसार मानव जातिको इतिहासमा पहिलो अर्ब जनसंख्यामा पुग्न लाखौं वर्ष लाग्यो भने पछिल्लो दुई सय वर्षको अवधिमा त्यो संख्या सात गुणाले वृद्धि भइसकेको छ। सन् २०११ मा विश्व जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ सम्ममा यो संख्या सात अर्ब ९० करोड पुगेको तथ्य प्रस्तुत गरिएको छ। यसै क्रममा आगामी दशकहरूमा जनसङ्ख्या झनै तीव्र गतिमा बढ्ने प्रक्षेपण गरिएको छ। सन् २०३० मा विश्व जनसङ्ख्या आठ अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ भने सन् २०५० मा यो संख्या नौ अर्ब ७० करोड र सन् २१०० सम्ममा १० अर्ब ९० करोड पुग्ने आंकलन गरिएको छ।
जनसङ्ख्याको यो तीव्र वृद्धिलाई प्रभावित पार्ने विभिन्न कारणहरूमा प्रजनन दरमा आएको परिवर्तन, सहरीकरणको दरमा वृद्धि, तथा बसाइँसराइ प्रमुख मानिएका छन्। हालसालै गरिएको अध्ययनअनुसार विगतको तुलनामा आधुनिक समयका युवा र युवतीहरूले आर्थिक अभाव, रोजगारीको असुरक्षा, स्वास्थ्य सेवाको अवस्था, शिक्षा तथा आवासको पहुँचजस्ता कारणले गर्दा सन्तानको चाहना घटाएका छन्। बालबालिका हुर्काउने चुनौतीपूर्ण परिस्थिति र वातावरणीय अस्थिरताले समेत यसमा प्रभाव पारेको देखिन्छ।
संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (UNFPA) द्वारा १४ वटा देशका १४ हजारभन्दा बढी व्यक्तीसँग गरिएको सर्वेक्षणअनुसार अधिकांश प्रजनन उमेरका वयस्कहरू आफ्नो इच्छाअनुसार सन्तान जन्माउन सकिरहेका छैनन्। उनीहरूले बालबालिकाको हेरचाहमा चुनौती, रोजगारी गुम्ने डर, जलवायु परिवर्तन, महामारी, युद्ध तथा वातावरणीय संकटलाई प्रमुख कारण मानेका छन्। यसले देखाउँछ कि भविष्यमा जनसङ्ख्याको नीतिगत व्यवस्थापन गर्दा यस्ता सामाजिक, आर्थिक र वातावरणीय पक्षहरूको गहिरो विश्लेषण अनिवार्य हुनेछ।
विश्व जनसङ्ख्या दिवसको अवसरमा महासचिव एन्टोनियो गुटरेसले आज विशेष सन्देश जारी गर्दै युवाहरूको सशक्तिकरणमा जोड दिएका छन्। उनले निष्पक्ष, शान्तिपूर्ण र आशामय संसारको निर्माणका लागि युवा पुस्ताको साथ, सशक्तिकरण र सहभागिता अपरिहार्य रहेको उल्लेख गरे। यस वर्षको जनसङ्ख्या दिवसको नारा “युवाले चाहेको परिवार सिर्जना गर्न उनीहरूलाई सशक्त बनाऔँ” भन्ने रहेको छ, जसले उनीहरूका अधिकारको सम्मान र समर्थनमार्फत दिगो विकास, मानव प्रतिष्ठा र शान्तिपूर्ण विश्व निर्माणमा जोड दिएको छ।
