मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित हटियामा मंगलबार बागमती प्रदेशस्तरीय प्रहरी अस्पतालको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारले प्रहरी र स्थानीय बासिन्दालाई लक्षित गरी आधुनिक स्वास्थ्य संरचना निर्माणको थालनी गरेको हो। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अस्पताल शिलान्यास गर्दै प्रहरी मात्र नभई आसपासका सर्वसाधारण नागरिकले समेत यसबाट सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे।
प्रहरीको सेवा र सुरक्षाका लागि जीवन अर्पण गर्ने सुरक्षाकर्मीलाई आवश्यक स्वास्थ्य सेवा प्रवाह गर्न विशेष ध्यान दिइएको भन्दै उनले अस्पताल निर्माण कार्यलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे।
बागमती प्रदेश प्रहरी कार्यालयमार्फत कार्यान्वयनमा ल्याइएको यस योजनाअन्तर्गत अस्पताल भवन परिसरमा पहिलो चरणमा बहिरंग सेवा कक्ष, कर्मचारी आवास, अस्पतालको घेराबार, डिप बोरिङ र पार्किङजस्ता आधारभूत संरचनाहरू निर्माण गरिनेछ। यससँगै सेवाग्राहीको सुविधाका लागि अस्पतालको पहुँच र कार्यक्षमता विस्तार गरिने लक्ष्य लिइएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित बजेट अन्तर्गत आधुनिक सुविधा सम्पन्न ३० शय्याको अस्पताल बनाउने दीर्घकालीन योजना अनुसार प्रारम्भिक चरणमा १५ शय्याको अस्पताल निर्माण आरम्भ गरिएको हो। निर्माण कार्यका लागि मूल्य अभिवृद्धि करसहित कुल ८ करोड ३ लाख ७१ हजार रुपैयाँ लागत अनुमान गरिएको छ। सम्झौताअनुसार आगामी २०८३ सालको पुस १८ गतेभित्रमा निर्माण कार्य सम्पन्न गरिने जनाइएको छ।
अस्पताल निर्माणपछि बहिरङ्ग सेवा मात्र होइन, अन्तरंग सेवाको समेत सञ्चालन गरिनेछ। यसबारे जानकारी दिँदै बागमती प्रदेश अस्पतालका चिकित्सक प्रहरी नायव उपरीक्षक डा. प्रयास बिडारीले पहिलो चरणको भवन निर्माण सम्पन्न भएसँगै सेवा सञ्चालन प्रारम्भ हुने बताए। हाल बागमती प्रदेश प्रहरी अस्पतालले हेटौंडा–१५ स्थित रातोमाटे गणबाट प्रहरी कर्मचारीलाई सीमित स्वास्थ्य सेवा दिँदै आएको छ, तर नयाँ भवनको निर्माणपछि सेवा दायरा र गुणस्तरमा व्यापक सुधार आउने अपेक्षा गरिएको छ।
