मकवानपुर । बागमती प्रदेश सरकारले सार्वजनिक सुरक्षालाई थप प्रभावकारी बनाउन १० जिल्लाका ६४ स्थानमा १२० वटा सिसिटिभी क्यामेरा जडान गरी सञ्चालनमा ल्याएको छ।
मंगलबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले प्रहरी कार्यालय हेटौँडामा आयोजना गरिएको विशेष कार्यक्रममा उक्त निगरानी प्रणालीको औपचारिक उद्घाटन गरेका हुन् ।
प्रदेश सरकारको कुल २ करोड ८४ लाख ११ हजार ७ सय ३४ रुपैयाँको लागतमा जडान गरिएका यी क्यामेरा ३८ वटा प्रहरी युनिटमार्फत नियमित निगरानी गरिनेछन् । क्यामेरा जडानसँगै प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन थप व्यवस्थित हुने मन्त्री लामिछानेले विश्वास व्यक्त गरे। उनले आगामी आर्थिक वर्षमा नयाँ भवन निर्माण, पुराना संरचनाको सुधार र थप निगरानी उपकरण खरिदका लागि ३ करोड बजेट विनियोजन गरिएको जानकारी पनि दिए ।
कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख अरुण पौडेलले हाल अझै २५० थान क्यामेराको खाँचो रहेको बताए। उनले आगामी वर्ष थप १०० क्यामेरा जडान गर्ने लक्ष्य राखिएको जानकारी गराए ।
अत्याधुनिक निगरानी प्रविधि अन्तर्गत अन्तर प्रादेशिक सिमाना र राष्ट्रिय राजमार्गका संवेदनशील क्षेत्रहरू-चितवनको नारायणगढ, सिन्धुलीको भीमान, र मकवानपुरको रातोमाटेमा ‘बिएलएच क्यामेरा’ र ‘रडार प्रणाली’ समेत जडान गरिएको छ। यी क्यामेराले कम्तिमा ९० दिनको डाटा भण्डारण गर्न सक्छन् र विद्युत् अवरोध भए पनि पावर ब्याकअपको व्यवस्था गरिएको छ।
