विपन्नलाई काजकिरिया खर्च 

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले विपन्न परिवारको काजकिरियाका लागि आर्थिक सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको छ ।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, वडाध्यक्ष नारायण उप्रेतीसहितको उपस्थितिमा मंगलबार मनहरी–८ का चारवटा परिवारलाई प्रति परिवार २० हजार रुपैयाँ र श्रद्धाञ्जली पत्र हस्तान्तरण गरिएको छ ।
केही दिनअघि मात्रै निधन भएका मनहरी ८ का कृष्णबहादुर प्रजाको परिवारलाई भेट गरी मृत्यु दर्ताका साथै काजकिरियाबापत २० हजार रुपैयाँ प्रदान गरिएको हो । त्यसैगरी केही समयअघि निधन भएका लोकप्रसाद सुवेदी, बाबुराम स्याङ्तान र बिमन विकको परिवारलाई अध्यक्ष कालाखेतीसहितले घरमै पुगी श्रद्धाञ्जलीपत्र र नगद सहयोग हस्तान्तरण गरेका थिए ।
परिवारका सदस्यको निधनपश्चात् काजकिरिया गर्नका लागि आर्थिक समस्या झेल्दै आएका विपन्न परिवारलाई पालिकाले गत आर्थिक वर्षदेखि प्रति परिवार २० हजार रुपैयाँ सहयोग प्रदान गर्न सुरु गरेको हो । परिवारको सदस्यको मृत्युपछि जनप्रतिनिधि घरमै पुगेर मृत्यु दर्ताको कागजसमेत हस्तान्तरण गर्ने गरेका छन् ।
 गत आर्थिक वर्षको नीति तथा कार्यक्रममै समावेश गरी मृतकको घरमै पुगेर काजकिरिया गर्नका लागि पालिकाकाले रकम उपलब्ध गराउने घोषणा गरेको थियो । गत वर्ष मात्रै करिब एक सय ८० परिवारलाई काजकारिया खर्चबापत रकम उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिए । वडा कार्यालयबाट मृत्युदर्तासहित विपन्नको सिफारिस गरेपछि गाउँपालिका कार्यालयले काजकिरिया गर्न प्रति परिवार २० हजार रुपैयाँ नगद उपलब्ध गराउने गरेको हो । ‘आर्थिक अभावकै कारण काजकिरिया रोकिने अवस्था नआओस् भन्नाको लागि हामीले कार्यपालिकाबाटै निर्णय गरेर काजकिरिया खर्च दिने गरेका छौँ । गत वर्षदेखि सुरु गरेको यो कार्यक्रमलाई निरन्तरता दिएका छौँ ।’ अध्यक्ष कालाखेतीले भने ।
By खुड्किलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.