मकवानपुर । बागमती प्रदेश सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण आमाबाबु गुमाएका बालबालिकाको शिक्षा, संरक्षण र भविष्य सुनिश्चित गर्न आवासीय शिक्षा कार्यक्रम अघि बढाएको छ ।
बाढीबाट अभिभावकविहीन बनेका बालबालिकालाई सुरक्षित आवाससहित कक्षा १२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय कार्यान्वयनका लागि आवश्यक कार्यविधि परिमार्जन र व्यवस्थापनको प्रक्रिया अघि बढाइएको बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले जानकारी दिए ।
मन्त्री पौडेलको नेतृत्वमा मन्त्रालयले आवासीय शिक्षा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिमाथि आवश्यक राय सहमति प्रदान गरेको हो । कार्यविधिलाई विपद्बाट प्रभावित बालबालिकाको वास्तविक अवस्था र आवश्यकतालाई सम्बोधन गर्ने गरी थप व्यवहारिक तथा प्रभावकारी बनाउन आवश्यक परिमार्जनका लागि सुझावसमेत दिइएको छ ।
प्रदेश मन्त्रिपरिषद्ले यसअघि नै रसुवा, नुवाकोट, धादिङ र चितवनमा बाढी तथा विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा, आवास र संरक्षणको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको थियो ।
बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको शिक्षा बीचमै नरोकिने र उनीहरूको भविष्य अन्योलमा नपरोस् भन्ने उद्घेश्यले आवासीय शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
प्रदेश सरकारले विद्यालयमा भर्ना र पढाइका साथै आवासीय शिक्षा कार्यक्रममार्फत बालबालिकाको आवास, खानपान, स्वास्थ्य, सुरक्षा, संरक्षण, मनोसामाजिक सहयोग र निरन्तर हेरचाहलाई समेत व्यवस्थित गर्ने तयारी गरिएको छ । विपद्पछि अभिभावक गुमाएका बालबालिकाले भोग्न सक्ने मानसिक तथा सामाजिक समस्यालाई ध्यानमा राख्दै कार्यक्रमलाई बालमैत्री बनाउन जोड दिइएको छ ।
अहिले बाढीपछि अभिभावकविहीन बनेका बालबालिकाको विवरण सङ्कलन गर्ने काम भइरहेको बताइएको छ ।
बाढीबाट घरबार तथा विद्यालयसमेत प्रभावित भएका बालबालिकाको अवस्था पहिचान गरी उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने तयारी भइरहेको हो । यसका लागि प्रदेशको शिक्षा विकास निर्देशनालयले ‘सामुदायिक विद्यालयमा आवासीय कार्यक्रम व्यवस्थापन कार्यविधि, २०८३’ समेत सार्वजनिक गरिसकेको छ ।










