मकवानपुरगढीमा बालसंरक्षणबारे छलफल

मकवानपुर।मकवानपुरगढी गाउँपालिकामा बालसंरक्षणको अवस्था, बालअधिकार समिति र बालबालिकासँग सम्बन्धित समस्याबारे सरोकारवालाबीच छलफल गरिएको छ।

सिविन नेपालको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको समन्वयमा स्थानीय बालअधिकार समिति तथा सरोकारवालासँग छलफल गरिएको हो।

कार्यक्रममा बालअधिकार समितिको गठन प्रक्रिया, समितिका काम, कर्तव्य, कार्यकाल, नियमित बैठक र वैकल्पिक स्याहारको व्यवस्थाबारे जानकारी गराइएको थियो। वडास्तरीय बालअधिकार समिति गठन प्रक्रिया तथा बालकल्याण अधिकारीको काम र कर्तव्यबारे पनि छलफल गरिएको थियो।

सिविन बाल हेल्पलाइन हेटौँडाका प्रबन्धक झविन्द्र ज्ञवालीले बालसंरक्षणको अवस्था र बालबालिकासँग सम्बन्धित घटनाबारे प्रस्तुति दिएका थिए। उनले मकवानपुरगढी गाउँपालिकामा पछिल्ला चार आर्थिक वर्षमा बालबालिकासँग सम्बन्धित ४५ वटा घटना तथा समस्या अभिलेख भएको जानकारी दिए।

सिविन बाल हेल्पलाइन हेटौँडामा दर्ता भएका घटनामध्ये शैक्षिक सहयोग, बालबालिका हराउने तथा फेला पर्ने, बालविवाह, बालश्रम, अनलाइन दुर्व्यवहार, लागूऔषध दुर्व्यसन, मनोविमर्श तथा परामर्शलगायतका घटना छन्।

तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा १४ वटा घटना अभिलेख भएका थिए। आर्थिक वर्ष २०८१/०८२ मा १२, २०८२/०८३ मा १३ र चालु आर्थिक वर्ष २०८३/०८४ मा हालसम्म पाँचवटा घटना अभिलेख भएका छन्।

सबैभन्दा बढी पारिवारिक शैक्षिक सहयोग तथा पारिवारिक समस्यासँग सम्बन्धित १२ वटा घटना छन्। बालबालिका हराउने तथा फेला पर्ने ११ र बालविवाहका आठवटा घटना भएका छन्।

आर्थिक वर्ष २०८०/०८१ मा शैक्षिक सहयोग तथा पारिवारिक समस्याका छवटा घटना भएका थिए। बालबालिका हराउने तथा फेला पर्ने तीन र बालविवाहका दुई घटना अभिलेख भएका थिए। सोही वर्ष बालबिज्याइँसम्बन्धी एक तथा जबरजस्ती करणीसम्बन्धी दुई घटना पनि दर्ता भएका थिए।

आर्थिक वर्ष २०८१/०८२ मा बालविवाहका घटना बढेर चार पुगेका थिए। बालश्रमका तीन तथा शैक्षिक सहयोग र पारिवारिक समस्याका दुई घटना भएका थिए। बालबालिका हराउने तथा फेला पर्ने, अनलाइन दुर्व्यवहार र लागूऔषध दुर्व्यसनसम्बन्धी एकरएक घटना अभिलेख भएका थिए।

आर्थिक वर्ष २०८२/०८३ मा बालबालिका हराउने तथा फेला पर्ने घटना सबैभन्दा बढी सातवटा भएका थिए। सो वर्ष बालविवाहका दुई तथा अनलाइन दुर्व्यवहार, मनोविमर्श तथा परामर्श र खानपान सहयोगसम्बन्धी एकरएक घटना भएका थिए।

चालु आर्थिक वर्ष २०८३/०८४ मा हालसम्म शैक्षिक सहयोग तथा पारिवारिक समस्याका चार र मनोविमर्श तथा परामर्शसम्बन्धी एक घटना अभिलेख भएको छ।

छलफलमा बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ४८ मा उल्लेख गरिएका विशेष संरक्षणको आवश्यकता भएका बालबालिकासम्बन्धी १३ वटा विषयमा समेत चर्चा गरिएको थियो।

श्रम तथा रोजगार कार्यालय हेटौँडाका प्रमुख रुद्रनारायण शाहले बालश्रम न्यूनीकरणका लागि पालिका, प्रहरी र बाल हेल्पलाइनसहितको टोली परिचालन गर्नुपर्ने बताए। यस्तो अभियानमा श्रम तथा रोजगार कार्यालयको पूर्ण सहयोग र साथ रहने उनले बताए।

सिविन बाल हेल्पलाइनका प्रबन्धक झविन्द्र ज्ञवालीको अध्यक्षता तथा गाउँपालिकाको सामाजिक विकास समितिका प्रमुख एवं वडा नम्बर १ का अध्यक्ष आइतसिंह लोको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।

कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण शाह, महिला तथा बालबालिका शाखाकी सावित्री सापकोटालगायतको सहभागिता थियो।

स्थानीय बालअधिकार समितिका सदस्य तथा विभिन्न सरोकारवाला गरी २८ जनाको सहभागिता रहेको थियो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.