हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले संविधानले परिकल्पना गरेको सङ्घीय शासन प्रणालीलाई प्रभावकारी बनाउन प्रहरी समायोजनको प्रक्रिया यथाशीघ्र टुङ्ग्याउन सङ्घीय सरकारसँग आग्रह गर्नुभएको छ।
७१औँ प्रहरी दिवस–२०८३ का अवसरमा शुक्रबार बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापामगरले प्रहरी समायोजनमा ढिलाइ हुँदा प्रदेश सरकारलाई शान्ति सुरक्षा व्यवस्थापन तथा प्रहरी प्रशासन सञ्चालनमा व्यावहारिक कठिनाइ भइरहेको बताउनुभयो।
प्रदेशको भौगोलिक अवस्था, स्थानीय आवश्यकता र सुरक्षा चुनौतीलाई नजिकबाट बुझ्ने प्रदेश सरकारलाई प्रहरी परिचालन, जनशक्ति व्यवस्थापन र सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्ने वातावरण आवश्यक रहेको उहाँको भनाइ थियो। सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायबीच आवश्यक समन्वय, सहकार्य र संवादमार्फत प्रहरी समायोजनको प्रक्रिया छिटो निष्कर्षमा पुर्याउनुपर्नेमा उहाँले जोड दिनुभयो।








