हिमाल, आस्था र साहसिक यात्राको संगम

मकवानपुर । बागमती प्रदेशको उत्तरी हिमाली जिल्ला रसुवा प्रकृतिले दिएको अनुपम उपहार हो । हिमाल, ताल, कुण्ड, हिमनदी, जैविक विविधता, तामाङ संस्कृति र धार्मिक आस्थाको अद्भुत संगमले यो जिल्लालाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक बनाएको छ । विशेषगरी लाङटाङ उपत्यका र गोसाईकुण्ड क्षेत्रले पछिल्ला वर्षहरुमा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण निरन्तर बढाइरहेका छन् ।
लाङटाङ हिमालको काखमा फैलिएको उपत्यका र समुद्री सतहबाट ४ हजार ३८० मिटर उचाइमा रहेको गोसाईकुण्ड केवल पर्यटकीय गन्तव्य मात्र होइनन्, प्रकृति, संस्कृति, साहसिक पदयात्रा र धार्मिक आस्थाको जीवित संगम पनि हुन् । यही कारणले पछिल्लो समय दसैं–तिहार, नयाँ वर्ष तथा अन्य सार्वजनिक बिदामा आन्तरिक पर्यटकको रोजाइमा यी क्षेत्र अग्रस्थानमा पर्न थालेका छन् ।
लाङटाङ राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार वर्षको पहिलो पाँच महिनामा ३० हजार जना पर्यटकले लाङटाङ र गोसाईकुण्ड क्षेत्रको भ्रमण गर्ने गरेका छन् । यसमध्ये स्वदेशी तथा विदेशी गरी १० हजार महिला र २० हजार पुरुष पर्यटक रहेका छन् । सार्क राष्ट्रबाट मात्रै ६ हजारभन्दा बढी विदेशी पर्यटक यहाँ पुग्ने गरेका छन् । बढ्दो पर्यटक आगमनले रसुवाको पर्यटन अर्थतन्त्रलाई नयाँ ऊर्जा दिएको छ ।

पाँच दिनमै हिमालको काखमा
स्थानीय सञ्चारकर्मीसमेत रहेका बलराम घिमिरेले लाङटाङ पदमार्गबारे आफ्नो अनुभव सुनाउँदै काठमाडौंबाट छोटो समयमै हिमाली जीवन, जैविक विविधता, तामाङ संस्कृति र हिमशृङ्खलाको अनुपम दृश्य एकैपटक अनुभव गर्न सकिने गन्तव्यका रुपमा लाङटाङलाई चित्रण गरेका छन् । काठमाडौंबाट करिब १३० किलोमिटरको सडक यात्रा गरी स्याफ्रुबेँसी पुग्न सकिन्छ । यहीँबाट सुरु हुन्छ लाङटाङ पदमार्गको वास्तविक यात्रा ।
स्याफ्रुबेँसीबाट बम्बु, रिम्चे, लामा होटल, घोडातबेला हुँदै लाङटाङ गाउँ र त्यसपछि क्यान्जिन गुम्बासम्म पुग्ने पदमार्ग नेपालको सबैभन्दा लोकप्रिय ट्रेकिङ मार्गमध्ये एक मानिन्छ । बाटोभरि घना वन, खोल्साखोल्सी, झरना, हिमाली वनस्पति तथा वन्यजन्तुले यात्रुलाई निरन्तर आकर्षित गरिरहन्छन् । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने यो मार्ग रेडपाण्डा, कस्तुरी मृग, हिमाली चराचुरुङ्गी तथा दुर्लभ वनस्पतिको महत्वपूर्ण वासस्थान पनि हो ।

भूकम्पको पीडाबाट उठेको गाउँ
२०७२ सालको विनाशकारी भूकम्पले लाङटाङ गाउँलाई गम्भीर क्षति पुर्‍याएको थियो । हिमपहिरोले पुरानो बस्ती नै बगाएपछि सयौँ मानिसले ज्यान गुमाएका थिए । तर आज त्यही भूगोल फेरि उठेको छ ।
पदयात्री तथा लेखक एलपी देवकोटाले आफ्नो यात्रासंस्मरणमा लाङटाङ पुगेपछि स्थानीयले सुनाएको भूकम्पको कथा सम्झँदै ६ असार २०८३ शनिवार लेखेका छन्, ‘विनाशपछि पुनः निर्माण भएको बस्तीले मानिसको अदम्य साहस र जीवटताको परिचय दिन्छ ।’ हाल लाङटाङका होटल, लज तथा पर्यटन पूर्वाधार पुनर्निर्माण भइसकेका छन् । पर्यटकका लागि सुरक्षित आवास र सेवासुविधा उपलब्ध छन् । यसले लाङटाङलाई पुनः अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्न मद्दत पुगेको छ ।

लाङटाङको हिमाली स्वर्ग
लाङटाङ राष्ट्रिय निकुञ्जभित्र अवस्थित क्यान्जिन भ्याली (क्यान्जिन गुम्बा क्षेत्र) रसुवा जिल्लाको सबैभन्दा आकर्षक हिमाली गन्तव्यमध्ये एक हो । समुद्री सतहबाट करिब ३ हजार ८७० मिटर उचाइमा रहेको यो उपत्यका लाङटाङ पदमार्गको अन्तिम प्रमुख गन्तव्यका रुपमा परिचित छ । चारैतिर सेता हिमशृङ्खला, विशाल हिमनदी, हरिया चरन क्षेत्र र तिब्बती बौद्ध संस्कृतिको प्रभावले क्यान्जिन भ्यालीलाई प्राकृतिक तथा सांस्कृतिक दृष्टिले विशेष बनाएको छ ।
स्याफ्रुबेँसीबाट सुरु हुने पदयात्रा बम्बु, लामा होटल, घोडातबेला, लाङटाङ गाउँ, मुन्डु र सिन्दुम हुँदै क्यान्जिन भ्याली पुग्छ । सामान्यतया दुईदेखि तीन दिनको पदयात्रापछि यहाँ पुग्न सकिन्छ । बाटोभरि लाङटाङ खोलाको सुसेली, घना वन, झरना तथा हिमाली वनस्पतिले यात्रुलाई मोहित बनाइरहन्छ । यहाँ पुग्ने अधिकांश यात्रुका लागि क्यान्जिन भ्याली केवल एउटा पर्यटकीय स्थल नभई जीवनभर सम्झिरहने हिमाली अनुभूति बनेर फर्किने गर्दछ ।
क्यान्जिन भ्यालीको मुख्य आकर्षण भनेको यहाँबाट नजिकै अवस्थित क्यान्जिन री (४,७७३ मिटर), चेर्कुरी री (करिब ५,००० मिटरभन्दा माथि) तथा लाङटाङ हिमनदीको अवलोकन हो । क्यान्जिन रीको चुचुरोबाट लाङटाङ लिरुङ, दोर्जे लाक्पा, याला पिक, गणेश हिमाल लगायत दर्जनौँ हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तका बेला हिमालमा पर्ने सुनौलो किरणले यहाँको दृश्यलाई अझ अद्भुत बनाउँछ ।
क्यान्जिन क्षेत्रमा रहेको ऐतिहासिक बौद्ध गुम्बा पनि धार्मिक तथा सांस्कृतिक महत्वको केन्द्र हो । यस क्षेत्रका अधिकांश बासिन्दा तामाङ समुदायका छन्, जसको जीवनशैली, संस्कृति र आतिथ्यले पर्यटकलाई हिमाली सभ्यताको नजिक पुर्‍याउँछ । क्यान्जिन भ्याली नेपालको प्रसिद्ध याक चिज उत्पादन केन्द्रका लागि पनि परिचित छ । यहाँ सञ्चालित चिज उत्पादन केन्द्रले स्थानीय चौँरीपालन व्यवसायलाई प्रोत्साहन गर्दै आएको छ ।

गोसाईकुण्डः आस्था र प्रकृतिको संगम
यदि लाङटाङ साहसिक यात्राको गन्तव्य हो भने गोसाईकुण्ड धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको केन्द्र हो । समुद्री सतहबाट ४ हजार ३८० मिटर उचाइमा अवस्थित गोसाईकुण्ड हिन्दू धर्मावलम्बीहरुको प्रसिद्ध तीर्थस्थल हो । धार्मिक विश्वास अनुसार समुद्रमन्थनका क्रममा निस्किएको विषको प्रभाव कम गर्न भगवान शिवले त्रिशूल प्रहार गरी जल निकाल्दा गोसाईकुण्डको उत्पत्ति भएको मानिन्छ ।
गोसाईकुण्ड वरिपरि १०८ वटा कुण्ड रहेको जनविश्वास छ । सूर्यकुण्ड, भैरवकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड लगायतका कुण्डले यस क्षेत्रको धार्मिक महत्व अझ बढाएका छन् । सन् २००७ मा गोसाईकुण्ड क्षेत्र रामसार सूचीमा समावेश गरिएको थियो । जैविक विविधता, हिमाली जलाधार र धार्मिक महत्वका कारण यो अन्तर्राष्ट्रिय महत्वको सिमसार क्षेत्रका रुपमा समेत परिचित छ ।
करीब ९८७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गोसाईकुण्ड गाउँपालिकाको प्रमुख आर्थिक आधार पर्यटन रहेको गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङले बताइन् । लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाईकुण्ड, क्यान्जिन भ्याली, रसुवागढी, नागथली, तामाङ संग्रहालय लगायतका गन्तव्यले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको उनको भनाई छ । पर्यटनसँगै पशुपालन, फलफूल खेती, याक चिज उत्पादन तथा जलविद्युत आयोजनाबाट पनि स्थानीयले आयआर्जन गरिरहेका छन् ।
जीवन लामाले आफ्नो पदयात्रा अनुभवमा गोसाईकुण्ड यात्रालाई ‘गन्तव्यभन्दा बढी अनुभूतिको यात्रा’ भनेर वर्णन गरेका छन् । धुन्चेबाट सुरु हुने पदयात्रा देउराली, चन्दनबारी, चोलाङपाटी हुँदै लौरीबिना पुग्छ । चन्दनबारीको पुरानो सिङगोम्पा गुम्बा, याक चिज केन्द्र र लालीगुराँसले ढाकिएका जंगल यात्राका विशेष आकर्षण हुन् ।
लौरीबिनाबाट बिहानै सुरु हुने उकालो यात्रापछि यात्रुहरु नागकुण्ड, भैरवकुण्ड हुँदै मुख्य गोसाईकुण्ड पुग्छन् । नीलो पानीले भरिएको विशाल कुण्ड, वरिपरिका हिमाल र उच्च हिमाली वातावरणले यात्रुलाई मन्त्रमुग्ध बनाउँछ ।
जनैपूर्णिमाका बेला हजारौँ श्रद्धालु गोसाईकुण्ड स्नानका लागि यहाँ पुग्ने गर्छन् । हिउँदमा कुण्ड जम्ने र बसन्तमा नीलो पानी तथा गुराँसले सजिने भएकाले हरेक मौसममा यसको छुट्टै आकर्षण छ ।
मकवानपुरबाट परिवारसहित गोसाईकुण्ड पुगेकी सावित्री फुयाँलले हिमालको काखमा रहेको नीलो कुण्ड, शान्त वातावरण र पदयात्राको अनुभव जीवनकै अविस्मरणीय क्षण बनेको बताइन् । ‘गोसाईकुण्ड पुगेर कुण्डको किनारमा उभिँदा सबै थकान बिर्सिएँ, त्यो क्षण शब्दमा वर्णन गर्न सकिँदैन,’ उनले सुनाइन् ।
हेटौंडाबाट परिवारसहित पदयात्रामा निस्किएका भिमसेन हुमागाईंले गोसाईकुण्डको यात्रा गन्तव्यभन्दा पनि यात्राकै सौन्दर्यले भरिएको अनुभव भएको बताए । ‘लौरीबिनादेखिको उकालो चुनौतीपूर्ण थियो, तर हिमाल, गुराँसका वन र कुण्डको अनुपम दृश्यले हरेक पाइला सार्थक बनायो,’ उनले यात्रा सम्झिए ।
लाङटाङ र गोसाईकुण्ड क्षेत्रको अर्को महत्वपूर्ण पक्ष यहाँको तामाङ संस्कृति हो । स्याफ्रु, बृद्धिम, थुमन, टिमुरे, लाङटाङ तथा वरपरका बस्तीमा तामाङ समुदायको बाहुल्यता रहेको छ । परम्परागत घर, भेषभूषा, भाषा, संस्कृति, गुम्बा तथा जीवनशैलीले पर्यटकलाई हिमाली सभ्यतासँग परिचित गराउँछ । स्थानीय आतिथ्यता र मौलिक खानपानले यात्रालाई अझ स्मरणीय बनाउने गर्दछ ।

चिसापानी गढी : इतिहास बोकेको गन्तव्य
लाङटाङ र गोसाईकुण्डको चर्चाबीच ओझेलमा परेको रसुवाको अर्को महत्वपूर्ण गन्तव्य हो–चिसापानी गढी । नेपाल–तिब्बत व्यापार मार्गको ऐतिहासिक सुरक्षास्थलका रुपमा परिचित चिसापानी गढी रणनीतिक तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । यहाँबाट गणेश हिमाल, लाङटाङ हिमाल र आसपासका पहाडी भूभागको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
इतिहासकारहरुका अनुसार नेपाल–तिब्बत व्यापार तथा सीमाक्षेत्रको निगरानीका लागि प्रयोग हुने यो गढी तत्कालीन राज्य व्यवस्थाको महत्वपूर्ण केन्द्र थियो । अहिले पनि यहाँ रहेका भग्नावशेष, पुराना संरचनाका अवशेष र प्राकृतिक परिवेशले इतिहासप्रेमीलाई आकर्षित गर्छ । यसका अतिरिक्त रसुवागढी, नागथली भ्यू टावर क्षेत्र, तातोपानी, बृद्धिम गाउँ, थुमन सांस्कृतिक बस्ती तथा टिमुरे क्षेत्र पनि रसुवाका महत्वपूर्ण पर्यटकीय सम्पदा हुन् । विशेषगरी रसुवागढीले नेपाल–तिब्बत सम्बन्ध, व्यापारिक इतिहास र सामरिक महत्वको कथा बोकेको छ ।
हिमाल, संस्कृति, धार्मिक आस्था, जैविक विविधता र साहसिक पर्यटनको अनुपम संगम बनेको रसुवा आज नेपालको प्रमुख पर्यटन गन्तव्यका रुपमा स्थापित हुँदैछ । लाङटाङको हिमाली सौन्दर्य, गोसाईकुण्डको आध्यात्मिक आकर्षण र रसुवाका अन्य ऐतिहासिक तथा प्राकृतिक सम्पदाको दिगो संरक्षण र प्रवद्र्धन गर्न सकिए यसले स्थानीय अर्थतन्त्र मात्र नभई राष्ट्रिय पर्यटन उद्योगलाई समेत नयाँ उचाइमा पुर्‍याउने रसुवाबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य तथा वर्तमान आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.