राहत र पुनर्निर्माणबारे छलफल गर्न बागमती प्रदेशसभा बैठक बोलाउन माग

हेटौंडा । रसुवा–भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित क्षेत्रको राहत, क्षतिपूर्ति, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणबारे छलफल गर्न बागमती प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरिएको छ।

बागमती प्रदेशसभा सदस्य शुष्पा भुजेल न्यौपानेले उपसभामुख अप्सरा चापागाईंलाई ध्यानाकर्षणपत्र बुझाउँदै प्रदेशसभाको बैठक यथाशीघ्र आह्वान गर्न माग गर्नुभएको हो। प्रदेशसभा सदस्य न्यौपानेले बैठक आह्वानका लागि ध्यानाकर्षण गराउनुभएको विषय बागमती प्रदेशसभाका प्रवक्ता एवं कानुन उपसचिव प्रकाश चापागाईंले पुष्टि गर्नुभएको छ।

२०८३ साल भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। बाढीपहिरोले सडक, पुल, जलविद्युत् आयोजना, खानेपानी, विद्यालय, स्वास्थ्य संस्था तथा कृषि क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको छ। प्राकृतिक विपद्का कारण सर्वसाधारणको जनजीवन अत्यन्त कष्टकर बनेको अवस्थामा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यलाई थप प्रभावकारी बनाउन सदनमा छलफल आवश्यक रहेको ध्यानाकर्षणपत्रमा उल्लेख छ।

ध्यानाकर्षणपत्रमार्फत बाढीपहिरोबाट भएको क्षतिको यथार्थ विवरण, हालसम्म सञ्चालन गरिएका उद्धार तथा राहतका कार्य, र मृतकका परिवार एवं घाइतेलाई उपलब्ध गराइने सहायता सम्बन्धमा प्रदेशसभामा छलफल गर्न जोड दिइएको छ। त्यसैगरी, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र भविष्यमा आउने यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन उपाय अवलम्बन गर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको छ।

विपद् व्यवस्थापन नागरिकको जीवन, सुरक्षा र सामाजिक न्यायसँग प्रत्यक्ष जोडिएको विषय भएकाले जनप्रतिनिधिमूलक संस्था मौन रहन नमिल्ने ध्यानाकर्षणपत्रमा जनाइएको छ। सरकारलाई जनताप्रति जवाफदेही बनाउन, प्रभावित नागरिकको पक्षमा आवश्यक नीतिगत निर्णय लिन र सम्बन्धित मन्त्रीबाट घटनाबारे औपचारिक जानकारी लिँदै प्रदेश सरकारका कामकारबाहीको समीक्षा गर्न तत्काल प्रदेशसभा बैठक बस्नुपर्ने माग गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.