हेटौंडा । बडादशैंको मुखैमा हेटौंडामा गरिएको खसीको मासुको मूल्यवृद्धि तत्कालका लागि स्थगित गरिएको छ। माछामासु व्यवसायी संघले असोज २७ गतेदेखि लागू हुने गरी खसीको मासुमा प्रतिकिलो १ सय रुपैयाँ बढाउने निर्णय गरेकोमा उपभोक्ताको चासो र असन्तुष्टिपछि उक्त निर्णय स्थगित गरिएको हो।
यसअघि संघले हेटौंडाका मासु पसलहरूबाट साविकमा प्रतिकिलो १ हजार १ सय रुपैयाँमा बिक्री भइरहेको खसीको मासुको मूल्य बढाएर १ हजार २ सय रुपैयाँ पुर्याउने निर्णय गरेको थियो।
चाडपर्वको समयमा उपभोग्य वस्तुको खर्च बढिरहेका बेला मासुको मूल्यसमेत वृद्धि हुँदा सर्वसाधारण उपभोक्तामाथि अतिरिक्त आर्थिक भार पर्ने अवस्था सिर्जना भएको थियो। मूल्यवृद्धि स्थगित भएसँगै अब हेटौंडाका उपभोक्ताहरूले तत्कालका लागि पुरानै मूल्य (प्रतिकिलो रु. १,१००) मा खसीको मासु खरिद गर्न पाउने भएका छन्।
चाडपर्वका बेला उपभोग्य वस्तुको अनियन्त्रित मूल्यवृद्धिले सर्वसाधारण प्रत्यक्ष मारमा पर्ने भएकाले मासु व्यवसायीहरूले मूल्य निर्धारण गर्दा उपभोक्ताको हितलाई समेत ध्यान दिनुपर्ने देखिन्छ।








