मकवानपुर । त्यो दिन गंगा न्यौपाने राउतलाई आफू कहाँ आइपुग्दैछु भन्ने खासै अनुमान थिएन। न कुनै ठूलो तयारी थियो, न सौन्दर्य प्रतियोगितामा सहभागी हुने पुरानो सपना। साथी तथा छिमेकी रोजी श्रेष्ठले प्रतियोगितामा सहभागी हुन लागेको सुनाउँदै उनलाई पनि सहभागी हुन सुझाएकी थिइन्। गंगाले धेरै सोचिनन्। जीवनमा पहिलोपटक यस्तो प्रतियोगिता कस्तो हुन्छ होला भन्ने उत्सुकताले उनलाई पनि अडिसनसम्म पुर्यायो।
‘मैले पनि ब्युटी कन्टेस्ट हुन पाउँछु भन्ने कल्पना नै गरेको थिइनँ,’ उनी सम्झिन्छिन्, ‘कस्तो हुँदो रहेछ, हेरौँ न त भनेर गएको थिएँ।’
त्यो ‘हेरौँ न त’ नै उनको जीवनको एउटा नयाँ अध्यायको सुरुवात बन्यो। धेरै प्रतिस्पर्धीबीच भएको अडिसनबाट २० जना छनोट भए। गंगा पनि ती २० जनामध्ये परिन्। त्यसपछि उनले तालिम, व्यक्तित्व विकास, ट्यालेन्ट, लिडरसिप, स्टेज प्रस्तुति र अनुशासन सिकिन्।
जीवनमा कहिल्यै अग्लो हिल नलगाएकी गंगालाई अब पेन्सिल हिल लगाएर स्टेजमा हिँड्न सिक्नुपर्ने भयो। सुरुका दिन सहज थिएनन्। दुई–तीन घण्टा लगातार हिलमा उभिनुपर्दा खुट्टा दुख्थ्यो। शरीर थाक्थ्यो। आफूले कहिल्यै नगरेको काममा आत्मविश्वास पनि डगमगाउँथ्यो।
तर उनी पछि हटिनन्।
‘मेरो मुस्किल देखेर मेरा जज निर्णय श्रेष्ठ सरले स्टेजमा गिफ्ट समाइदिएर सहयोग गर्नुभएको थियो,’ उनी सम्झिन्छिन्।
तालिमसँगै उनको आत्मविश्वास पनि विस्तारै बढ्दै गयो। हिजोसम्म सामान्य जीवन बिताइरहेकी उनी अब स्टेजमा उभिएर आफूलाई प्रस्तुत गर्न सिक्दै थिइन्। उनलाई लाग्न थाल्यो कि मन लगाएर प्रयास गर्ने हो भने आफूले कहिल्यै नसोचेका काम पनि गर्न सकिँदो रहेछ।
अन्ततः २०८३ साउन १६ गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा ‘मिस एन्ड मिसेस नेपाल इन्टरनेशनल वल्र्ड २०२६’ को फाइनल भयो। सामरी इन्टरनेशनल इभेन्ट्स प्रालिले आयोजना गरेको प्रतियोगिताको मिसेस एलिगेन्सतर्फ २० जना प्रतिस्पर्धी थिए।
गंगा तेस्रो रनरअप घोषित भइन्। नतिजा सुन्दा भने उनी केही क्षण स्तब्ध भइन्। ‘नो,’ त्यतिबेला मुखबाट निस्किएको पहिलो शब्द सम्झिँदै उनी भन्छिन्, ‘किनकि मेरो मेहनत मेरो लेभलभन्दा निकै माथिको थियो।’ उनको लक्ष्य त पहिलो स्थान थियो। त्यसैले तेस्रो स्थान उनको मेहनत अनुसारको परिणामजस्तो लागेन। तर त्यो क्षणिक निराशालाई उनले धेरैबेर बोकिनन्। प्रतियोगिताको निर्णयलाई सम्मान गरिन्। परिवार, साथीभाइ र शुभेच्छुकको हौसलालाई सम्झिइन्। अनि त्यही तेस्रो स्थानलाई अर्को यात्राको ढोकाका रूपमा स्वीकार गरिन्।
त्यस दिन उनको परिवारका सदस्य सबै उपस्थित हुन सकेका थिएनन्। तर आमा, सानीमा, भाइ, बहिनी, टोलवासी र साथीहरू उनको हौसला बढाउन पुगेका थिए। उपलब्धिबारे परिवारलाई खबर गर्दा आएको प्रतिक्रिया छोटो थियो–‘प्राउड अफ यु, कीप इट अप।’
त्यो एउटा वाक्यले उनको मनमा बसेको निराशा हटाइदियो।
‘मेहनत त मैले तेस्रो स्थानका लागि मात्र नभई प्रथम हुनका लागि गरेको थिएँ,’ उनी भन्छिन्, ‘अनुशासित भएर हरेक काम कुशलतापूर्वक गरेकी थिएँ।’
सायद त्यसैको परिणामले उनलाई तेस्रो रनरअपको उपलब्धिले सफलताको अर्को मञ्चतर्फ लग्यो ।
अब उनी थाइल्याण्डको खोनकेन सहरमा हुने ‘मिसेस एसिया इन्टरनेशनल २०२६’ मा सहभागी हुँदैछिन्। अक्टोबर १२ देखि १९ सम्म आयोजना हुने प्रतियोगितामा उनी ‘मिसेस क्लासिक एसिया इन्टरनेशनल’ का रूपमा नेपालबाट प्रतिस्पर्धा गर्दैछिन्।
तर यो बिन्दुसम्म आइपुग्दा उनको जीवनले धेरैपटक आफूलाई बदलिसकेको थियो।
गंगाको सौन्दर्य प्रतियोगिताको यात्रा वास्तवमा सौन्दर्यबाट सुरु भएको होइन। यो एउटा यस्तो जीवनयात्राको नयाँ मोड हो, जहाँ उनले बाल्यकालदेखि नै अरूका लागि सोच्न सिकिन्, कलाकार बन्ने सपना देखिन्, परिवार सम्हालिन्, शिक्षणमा लागिन्, सामाजिक अभियान चलाइन्, महिला समूहको नेतृत्व गरिन् र स्वास्थ्य संकटसँग समेत जुधिन्।
गंगाको जन्म २०३३ साल फागुन २५ गते बनेपा नगरपालिकामा पण्डित केशवप्रसाद न्यौपाने र श्रीदेवी न्यौपानेको कोखबाट भएको हो। उनको बाल्यकाल बनेपाको बुडोल बाहुन गाउँमा बित्यो।
त्यो समय अवसर आजको जस्तो सहज थिएन। सामाजिक परिवेश फरक थियो। प्रविधि र पहुँच सीमित थिए। तर उनको सोच भने सानैदेखि फराकिलो थियो।
परिवार वा आफन्त कसैलाई समस्या पर्दा उनी सकेको सहयोग गर्न अघि सर्थिन्। कसैको समस्या समाधान गर्न सक्दा उनलाई भित्रैदेखि सन्तुष्टि मिल्थ्यो। आफूले सहयोग गरेको मानिसले खुसी हुँदै धन्यवाद दिँदा उनको मनमा त्यसको प्रभाव लामो समय रहन्थ्यो।
‘नानी, तपाईंले गर्दा मलाई सजिलो भयो। म अहिले खुसीसाथ जीवन जिउन सकेँ,’ आफूले सहयोग गरेका मानिसबाट सुनेका शब्द उनी अहिले पनि सम्झिन्छिन्।
यही संवेदनाले उनको जीवनदृष्टि बनायो।
‘सानैदेखि आफू र आफ्नो परिवारको पेटभन्दा माथि सोच्नुपर्छ भन्ने लागिरहन्थ्यो,’ उनी भन्छिन्, ‘सायद आज म त्यही सोचका कारण यो व्यक्तित्व निर्माणमा लागेकी छु।’
पाटन क्याम्पसबाट बीए गरेकी गंगा अहिले नेपाल खुला विश्वविद्यालयमा एलएलबी दोस्रो वर्षमा अध्ययनरत छिन्। स्कुल सकेदेखि नै उनले केही न केही गर्दै आइन्। काम गर्ने क्रम आजसम्म रोकिएको छैन।
उनको जीवनमा कलाकार बन्ने रहर पनि आयो। उनले सुरुमा प्रौढ कक्षामा काम गरिन्। त्यसपछि बीएस राणाको ‘बसन्ती’ नाटकमा जोडिइन्। त्यहीँबाट उनको अभिनयको बाटो फिल्मसम्म पुग्यो।
बंगाली चलचित्र ‘लेडिरेम्बो’ मा सुनिल थापा र युवराज लामाहरूको बहिनीको भूमिका निर्वाह गरिन्। त्यसपछि नेपाली चलचित्र ‘गाउँले’ मा पनि अवसर पाइन्। सुनिल थापा र विपना थापासँग दुई दिनसम्म सुटिङ गरिन्।
तर अचानक बिरामी परिन्। अभिनय यात्रा रोकियो।
त्यो घटनाले उनलाई निराश बनाए पनि जीवन रोकिएन।
पुष्कर शाह, शिव र किशोर ढकाललगायतले आफू काम गर्न नसक्ने भए अर्को कलाकार सिफारिस गर्न आग्रह गरे। उनले दीपाश्री निरौलालाई सिफारिस गरिन्।
‘मैले दीपाश्री निरौलालाई रिकमेन्ड गरेँ र उहाँलाई ‘गाउँले’ फिल्ममा ल्याउन लगाएँ,’ उनी भन्छिन्, ‘त्यो नै उहाँको पहिलो नेपाली मुभी पनि हो।’
अभिनयको यात्रा त्यहीँ रोकिए पनि गंगाको सक्रियता रोकिएन।
विवाह भयो। परिवारको जिम्मेवारी थपियो। श्रीमती, बुहारी र आमाको भूमिका आयो। तर उनले आफूलाई घरभित्र मात्र सीमित गरिनन्।
उनले मन्टेश्वरी स्कुल सञ्चालन गरिन्। बालबालिकासँग नजिक भएर काम गर्दा उनीहरूका शिक्षा, स्वास्थ्य, अधिकार र संस्कारका विषयमा उनको चासो झन् गहिरिँदै गयो।
२०७२ सालतिर उनले स्थानीय तहदेखि अभिभावक संघ र महानगरपालिकासम्म बालबालिकाको शिक्षा, स्वास्थ्य र संस्कारको विषय उठाउन थालिन्। पटकपटक छलफल गरिन्। बैठक बसिन्। सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।
उनको विश्वास थियो कि देशको भविष्य बदल्ने हो भने बालबालिकाबाट सुरु गर्नुपर्छ। ‘हाम्रो देशको भविष्य सुधार्ने जिम्मेवारी हाम्रै हो। हाम्रा बालबालिका नै भोलिका कर्णधार हुन्,’ उनले सम्बन्धित निकायलाई आग्रह गर्दै भनेकी थिइन्, ‘बीस वर्ष हामीले बालबालिकामाथि एकरूपताले शिक्षा, स्वास्थ्य र संस्कार दिनुपर्नेछ। हाम्रो देश हाम्रै पालामा बस्नलायक बनाउन सकिन्छ। बिन्ती, मलाई हेल्प गर्नुस्।’
तर अपेक्षित सहयोग सधैँ पाएनन्। राज्यका विभिन्न संयन्त्रले जिम्मेवारी पन्छाउने गरेको उनको अनुभव रह्यो।
त्यसपछि कोरोना महामारी आयो। लकडाउन भयो। त्यही अवधिमा उनले आफूलाई क्यान्सर भएको अवस्थासमेत सामना गर्नुपर्यो।
मन्टेश्वरी बन्द गर्नुपर्यो। घर भाडामा लगाउने निर्णय गरिन्।
तर रोग र परिस्थितिले उनको सामाजिक सक्रियता रोक्न सकेन।
उनी आफ्नो वडामा टिएचपी टोल हेल्थ प्रमोटरका रूपमा सक्रिय रहिन्। टोल सुधार समितिको सचिव भएर काम गरिन्। अहिले उनी वडाकै पुरानो र प्रतिष्ठित रिद्धिसिद्धी महिला समूहकी अध्यक्ष छिन्।
महिला सशक्तीकरण र बालबालिकाका लागि टोलटोलमा बालक्लब आवश्यक रहेको उनको धारणा छ। ‘अहिले पनि महिला सशक्तीकरण र टोलटोलमा बालक्लब हुनुपर्छ भनेर काम गरिरहेकी छु,’ उनी भन्छिन्, ‘यहाँसम्म आउँदा व्यक्तिगत उपलब्धिभन्दा आफ्नो वडामा समाजसेवीका रूपमा परिचित हुनु ठूलो कुरा हो।’
उनको प्राथमिकता आत्मनिर्भर हुनु र समाजसेवा गर्नु हो। फुर्सदको समय पनि उनी आफूलाई शारीरिक, मानसिक र सामाजिक रूपमा निखार्न प्रयोग गर्छिन्।
दार्शनिक र महान् व्यक्तिहरूका जीवनी पढ्न उनलाई मन पर्छ। ‘चिना हराएको मान्छे’, ‘सेतो धरती’ र महावीर पुनको पुस्तकले पछिल्लो समय उनको ध्यान तानेका छन्। ऊर्जावान र प्रेरणादायी राष्ट्रिय गीत उनको रोजाइमा पर्छ। हिन्दी चलचित्र ‘जिन्दगी ना मिलेगी दोबारा’ उनलाई मन पर्छ। पाकिस्तानी नेतृ स्वर्गीय बेनजिर भुट्टो उनको मनपर्ने व्यक्तित्वमध्ये एक हुन्।
आफूलाई उनी तीन शब्दमा सहृदयी, आत्मीय र मिलनसार भन्न रुचाउँछिन्।
‘मेरो सबैभन्दा ठूलो शक्ति आत्मविश्वास नै हो,’उनी भन्छिन्।
आफ्ना कमजोरी पनि उनी लुकाउँदिनन्। अरूका लागि आवश्यकताभन्दा बढी समय खर्चिनु आफ्नो कमजोरी रहेको उनको स्वीकारोक्ति छ। अब भने त्यसमा सचेत भएर आफूलाई सुधार्दै अघि बढ्ने उनको भनाइ छ।
गंगाको जीवनमा आएको सौन्दर्य प्रतियोगिता त्यसैले उनको व्यक्तित्वभन्दा अलग कुनै नयाँ कथा होइन। बरु अहिलेसम्मको जीवनयात्राले तयार पारेको अर्को अध्याय हो।
उनले कलाकार बन्ने प्रयास गरिन्। अवसर नपुगेर यात्रा रोकियो। परिवार सम्हालिन्। शिक्षणमा लागिन्। बालबालिकाका विषयमा आवाज उठाइन्। सामाजिक काम गरिन्। महिला समूहको नेतृत्व गरिन्। रोगसँग जुधिन्।
अनि एक दिन साथीको सामान्य आग्रहमा सौन्दर्य प्रतियोगिताको अडिसन दिन पुगिन्। त्यहाँबाट छनोट भइन्। २० जनामध्ये एउटी प्रतिस्पर्धी बनिन्। तालिम लिइन्। हिल लगाउन सिकिन्। स्टेजमा उभिन सिकिन्। आफूलाई प्रस्तुत गर्न सिकिन्। अन्ततः तेस्रो रनरअप बनिन्। तर तेस्रो स्थानमा रोकिइनन्। त्यही उपलब्धिले उनलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्यायो।
अब उनको अगाडि थाइल्याण्ड छ। अक्टोबर १२ देखि १९ सम्म खोनकेनमा विश्वका विभिन्न देशबाट आएका प्रतिस्पर्धीबीच उनी नेपालका तर्फबाट उभिनेछिन्। यसपटक उनको परिचय केवल गंगा न्यौपाने राउत हुनेछैन। उनको साथमा नेपालको नाम पनि हुनेछ। ‘मलाई यो सफलताले आफ्नो लक्ष्यमा पुग्न ठूलो सहयोग गरेको महसुस भएको छ,’उनी भन्छिन्।










